कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए ! - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए !



लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित दूधपोखरी गाउँपालिका-१, का वडा सदस्य भरतप्रसाद भट्टराईलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी पदमबहादुर विष्टका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटेर गएको टोलीले भट्टराईलाई दूधपोखरी गाउँपालिका-१ दूधपोखरी माझीबारीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको र शुक्रबार जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला अदालतले उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो । स्रोतका अनुसार उनलाई स्थानीय तहको निर्वाचनअघि जिल्ला अदालतबाट ठगी मुद्दामा फैसला सुनाएको थियो । प्रहरीले उनको फैसलाको एकीन मिति भनेको छैन । अदालतले उनलाई फरार अभियुक्तको सूचीमा रहेको जानकारी दिएपछि प्रहरी उनलाई पक्राउ गर्न १ दिनको बाटो दूधपोखरी माझीबारी पुगेको थियो ।

प्रहरीले पक्राउ गरेका जनप्रतिनिधि वडा सदस्य भट्टराई दूधपोखरी गाउँपालिका-२, बिचौरस्थित बागिश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षसमेत हुन् । गाउँमा उनले अन्य व्यक्तिलाई पनि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको र उनी पक्राउ परेसँगै अन्य पीडित पनि थप मुद्दा लिएर प्रहरीकोमा आउने तयारी गरेको एक स्थानीयले बताए ।