३३ किलो सुन काण्ड: गृहमन्त्रालयबाट भागेका डिएसपी पक्राउ - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

३३ किलो सुन काण्ड: गृहमन्त्रालयबाट भागेका डिएसपी पक्राउ



गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समिति समक्ष बयान दिँदादिँदै मंगलबार भागेका डिएसपी सञ्जय राउत पक्राउ परेका छन्।

समितिले तथ्य केलाउन प्रयास गर्दा दोषी ठहर हुने देखिएपछि अात्तिएर भागेका उनी बुधबार पक्राउ परेकाे समिति स्राेतले जनायाे। पक्राउ पुर्जी नदिइ बयान लिइरहेका बेला उनी साेमबार गृहमन्त्रालयबाटै बेपत्ता भएका थिए। त्यस लगत्तै प्रहरीले उनीविरूद्ध पक्राउ सर्कुलर जारी गरेकाे थियाे।

सुन तस्करका मतियार डिएसपी गृहमन्त्रालयबाटै भागेकाे विषय पेचिलाे बनेपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न ७७ जिल्लाका प्रहरी इकाईमा सर्कुलर जारी गरेकाे थियाे। बुधबार राती नै पक्राउ परेका उनीसँग बिहीबार बिहान समितिले गृह मन्त्रालयमा बयान लिएकाे छ। बयान सकिए पछि उनलाइ थप कानुनी कारवाहीका लागि विराटनगर पठाइएकाे स्राेतले बतायाे।

समितिले अहिलेसम्म पक्राउ गरेका राउत दाेस्राे ठूला प्रहरी अधिकारी हुन्। यसअघि एसपी विकासराज खनाल पक्राउ परेका थिए। समितिले दाेषी ठहर गरेका एसएसपी श्यामबहादुर खत्री अझै सम्पर्कबिहीन छन्। समितिले प्रहरी प्रधान कार्यालयमार्फत उनलाई उपस्थित गराउन पत्राचार गरे पनि उनी सम्पर्कमा आएका छैनन्। अनुसन्धानमा दाेषी देखिएका सई बालकृष्ण सञ्जेल तथा गजेन्द्र रावललाई समितिले मोरङ प्रहरीको जिम्मा लगाइसकेकाे छ।

यो प्रकरणमा फागुन १८ गते पक्राउ परेका तीन जनासहित सबैलाई एकै पटक अदालतमा मुद्दा बुझाउने तयारी समितिले गरेको छ। समितिले मुद्दा बुझाउने हदम्याद वैशाख २० गतेसम्म छ। बुधबार मोरङ प्रहरीले अदालतबाट २३ जनालाई अनुसन्धान गर्न ८ दिनको म्याद थप गरेको थियाे।