दिल्ली डेयरडेभिल्सका नयाँ कप्तान २३ वर्षे ठिटो ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

दिल्ली डेयरडेभिल्सका नयाँ कप्तान २३ वर्षे ठिटो !



एजेन्सी– गौतम गम्भिरले आइपिएल टिम दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा दिएका छन्। आइपिएलमा खराब सुरुवात गरेपछि उनले कप्तानबाट राजीनामा दिएका हुन्। गम्भिरको राजीनामासँगै दिल्लीको कप्तानमा युवा ब्याट्सम्यान श्रेयास इयर नियुक्त भएका हुन्। २३ वर्षका श्रेयासलाई गम्भिरकै सिफारिसमा कप्तानमा नियुक्त गरिएको हो।

‘अंक तालिकामा हामी जहाँ छौं त्यसको सम्पूर्ण जिम्मेवारी लिन्छु,’ गम्भिरले भनेका छन्, ‘मैले चाहेका जति काम गर्न सकिन। राराजीनामा दिने यो सहि समय भएको मैले ठानेको छु। किनकी हामीसँग अझै सम्भावना छ। राजीनामाका लागि टिमबाट कुनै दबाब आएको छैन।’

आइपिएलका सुरुवाती ६ खेलमा दिल्लीले १ खेल मात्र जितेको छ। अंक तालिकाको पुछारमा रहेपछि गम्भिरले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएका हुन्।

नयाँ कप्तान श्रेयासलाई प्रशिक्षक रिकी पोन्टिङको पूर्ण समर्थन गरेको गम्भिरले दाबी गरे। बाँकी ८ खेलमा दिल्लीले राम्रो गर्न सक्ने उनको भनाई छ।

गम्भिर ७ वर्षपछि दिल्लीको कप्तानको रुपमा यहि सिजन फर्किएका थिए। उनले प्रतियोगिताको ५ खेलमा ब्याटिङ गर्दा कुल ८५ रन मात्र जोड्न सकेका छन्।

दिल्लीले आफ्नो सातौं खेलमा शुक्रबार कोलकोता नाइटराइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। दिल्लीमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने पनि आवद्ध छन्। यद्यपी सन्दीपले सुरुवाती ६ खेलमा मौका पाएका थिएनन्।

नयाँ कप्तान श्रेयासले गत वर्ष भारतीय राष्ट्रिय टिममा डेब्यु गरेका थिए। उनले अहिलेसम्म राष्ट्रिय टिमबाट ६ टी–२० र ६ एकदिवसीय खेल खेलेका छन्।