आइपिएल: मुम्बईको पाँचौ हार, हैदरावाद तेस्रो स्थानमा
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता मुम्बई इण्डियन्सले पाँचौ हार बेहोरेको छ । यो सिजन खराब लयबाट गुज्रिरहेको मुम्बई मंगलबार राति सनराइजर्स हैदरावादसँग ३१ रनले पराजित हुँदै पाँचौ हार बेहोरेको हो ।
मुम्बईस्थित वन्खेडे क्रिकेट स्टेडियममा पाहुना टोली हैदरवादले दिएको ११९ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १८ ओभर ५ बलमा अलआउट हुँदै ८७ रनमा समेटियो । मुम्बईको लागि सुर्य कुमार यादवले ३४ तथा कुर्नाल पाण्डयले २४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । मुम्बईलाई सस्तैमा समेट्न हैदरावादका सिदार्थ कउलले ३ तथा राशिद खान र बासील थाम्पीले समान २ – २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा अलआउट हुँदै ११८ रन जोडेको थियो । हैदरावादका लागि कप्तान केन विलियमसन र युसुफ पठानले समान २९ – २९ रन जोडे । यस्तै मनिस पाण्डेले १६ तथा मोहमद नाबीले १४ रन बनाए ।
मुम्बईका मायांक मार्कन्दे, मिचेल म्याकक्लेनघन र हार्दिक पाण्डयले समान २ – २ विकेट लिए ।
यो जितसँगै हैदरावाद लिगको तेस्रो स्थानमा उक्लिएको छ । हैदरावादले ६ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ । जितसँगै हैदरावादको प्ले अफ सम्भावना बलियो बन्दै गरेको छ । यता, मुम्बईले ६ खेलबाट २ अंक जोडेको छ । लिगको सातौं स्थानको मुम्बईको प्ले अफ सम्भावना कमजोर बन्दै गएको छ ।
आईपीएल क्रिकेटको शीर्ष स्थानमा किंग्स इलाभेन पन्जाब रहेको छ । पन्जाबले ६ खेलबाट १० अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सले ५ खेलबाट ८ अंक जोडेको छ ।