राजाकै शासन काल उत्तम थियो ।
अरुण नेपाली लुइँटेल / दुबई
हुन त मैले धेरै पटक लेखेको छु धेरै पटक बोलेको छु, केही साथीहरूले बुझ्नु पनि भएको छ अनि केही साथीहरूले अझै बुझ्नुभएको छैन । विशेष १९,२० वर्ष पुग्ने हरेक युवा जमातलाई बुझाउन पनि आवश्यक छ किनकि ती युवाहरूले सत्यता भन्दा पनि जस्तो सुनाइयो त्यस्तै बुझेका छन् ।
देशको सार्वभौमसत्ता देखी लिएर आर्थिक अवस्थासम्म राजाकै शासनकालमा बलियो थियो भन्ने कुरा त धेरैले पढेका र जानेबुझेका छन् अहिलेको अवस्थामा तर राजतन्त्र समाप्त हुनुमा मुख्य स्वार्थ कसको थियो र कसरी सकियो भन्ने कुरा धेरैले बुझ्न र जान्न सकेका छैनन् । इतिहास साक्षी छ राजा महेन्द्र पछि भारतको स्वार्थ अनि चीनको बढ्दो विकास र बलियो अर्थतन्त्रको कारण त्रसित पश्चिमा शक्तिहरूको चीनलाई नजिकबाट बुझ्दै उसलाई नजिकबाट चिन्न खोज्नको लागी कुनै भूमि प्रयोग गर्ने स्वार्थको कारण नेपालको राजसस्था चारैतिरबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा घाडो हुँदै गएको थियो ।
राजा महेन्द्र कै पालामा पनि नेपाली नेताहरूलाई प्रयोग गरी नेपालको राजतन्त्रलाई घुँडा टेकाउन नखोजिएको हैन तर राजा महेन्द्रको दुरदर्शिता, संयुक्त रास्ट्रसंघ मार्फत विश्वका विभिन्न शक्ति मुलुकहरूको सम्बन्धको कारण भारत लगायत केही पश्चिमा मुलुकहरूलाई गाह्रो भएको थियो भने स्वयम् त्यो बेलाको चर्चित जनप्रतिनिधि भनाउँदा बिपि कोइराला समेत दुबिधामा रहेका थिए । राजा महेन्द्रको मृत्यु पश्चात् त झन् बिपि राजासँग नै हात मिलाउन आएको कारण यो कुरा असम्भव जस्तै भएको थियो । बिपिको मृत्यु पश्चात् भने काङ्ग्रेस भित्रै र एमाले भित्र समेत सत्ताको लागी जे गर्न पनि तैयार हुने नेताहरूको जन्म प्रशस्त हुन गयो, तिनैलाई उपयोग गर्दै २०४६ सालमा राजा बिरेन्द्रलाई घुँडा टेक्न बाध्य बनाइयो ।
बहुदल पछि राजालाई संविधानले बाँधेर आफ्नो मनोमानी गर्न सकिन्छ भनेर बुझेका केही विदेशी शक्तिहरूलाई त्यति बेला दाँतमा ढुङ्गा लाग्यो जब गणतन्त्र र धर्म निरपेक्षको चर्को रूपमा आवाज उठाउने मदन भण्डारी समेत राजासँग नै हात मिलाएर अगाडी बढ्नुपर्छ भन्ने निर्णयमा पुगे । भारतीय सेना ल्याएर भए पनि गणतन्त्र ल्याउनुपर्छ भन्ने प्रस्ताव आइरहेको बेला मदन भण्डारीले पासा पल्टाइदिएपछी मदन भण्डारीलाई त्रीसुलीमा नखसालीकन कुनै उपाय नै थिएन ।
संविधानले राजालाई बाँधेर सानोतिनो स्वार्थ भारतले पुरा गर्न सकेपनी पश्चिमा शक्तिहरूको मुख्य कुराहरू राजसस्था भइन्जेल पुरा हुने अवस्थामा थिएन अनि राजा बिरेन्द्र र उनको परिवार भइन्जेल नेपालबाट राजसस्था उखेल्न पनि त्यति सजिलो थिएन, त्यसैले मदनलाई त्रीसुलिमा हुत्त्याएको ८ वर्ष पछि नारायणहिटी काण्ड मच्चाएर राजा बिरेन्द्रको वंश नाश गरियो ।
राजा बिरेन्द्रको वंश बिनासको योजना मदनको हत्यापछि नै बुनिन थालिएको थियो भन्ने कुरा गिरिजा प्रसादको ग्र्याण्ड डिजाइन भन्ने शब्दले स्पष्ट पार्छ । डिजाइन अनुसार राजा महेन्द्र भन्दा अगाडी राजा भएका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई बलिको बोको बनाउने पनि पहिल्यै नै तय भएको थियो । त्यसैको नतिजा थियो दरबार भित्रै रहेका राजा ज्ञानेन्द्रको परिवार कसैलाई नछोइ राजा बिरेन्द्रको वंशलाई मात्रै छानिछानि मार्ने । विदेशी शक्तिहरू राजा बिरेन्द्रको वंश नाश सँगै जनता कै माध्यमबाट नेपालमा त्यतिखेरै राजतन्त्र उखलेर फ्याक्न चाहन्थे, यदि राजा ज्ञानेन्द्रको परिवारको एउटा मात्रै सदस्यलाई पनि केही गरेको हुन्थ्यो भने जनताको पुरा सहानुभूति ज्ञानेन्द्रमा जान्थ्यो फलस्वरूप नेपालको राजतन्त्रलाई अर्को सयौँ वर्ष कसैले पनि केही गर्न सक्दैनथ्यो ।
जब ज्ञानेन्द्रको सपरिवार सकुशल रही राजा बिरेन्द्र र उनको परिवारको मात्रै हत्या भयो तब नेपाली जनताको मनमा सिधै लाग्यो सत्ताको लागी ज्ञानेन्द्रले आफ्नो वंशको बिनास गरे अझ बाबुराम भट्टराईले भारतबाटै लेखेको एउटा लेखले आगोमा घिउ थप्ने काम गर्यो । लगभग गणतन्त्रको लागी वातावरण बनिसकेको थियो सारा जनता ज्ञानेन्द्रको विरुद्धमा निक्लिसकेका थिए तर गिरिजा प्रसाद कोइरालाको दोग्ला चरित्रको कारण राजा ज्ञानेन्द्र नेपालको राजगद्दीमा बस्न आइपुगे । राजा ज्ञानेन्द्र यस्तो राजा भएका थिए, उनलाई त्यो राजगद्दी न निल्नु न ओकल्नु भएको थियो राणाकालमा भन्दा कमजोर राजा, नेताहरूले जता खेलायो त्यतै खेल्नुपर्ने । धेरैले पार्टीको झन्डा ओढ्दै भन्ने गरेका छन् ज्ञानेन्द्रले नारायणहिटीको सबुतहरु हतार हतार किन मेटाए तर तिनीहरूलाई के थाहा नेता र विदेशी शक्ति सामु निरह भएका अनि नेपाली जनताको आँखामा पनि निरह भएका राजा ज्ञानेन्द्रको नाम उपयोग गर्दै सबै काम तत्कालीन सरकारले गरेको थियो भन्ने कुरा । धेरैले भन्ने गर्छन् आफू राजा भइन्जेल आफ्नो दाइको हत्यारा किन पत्ता लगाउने कोसिस गरेनन् त उनले ।
जनता समेत आफ्नो विश्वासमा नरहेको बेलामा राजा ज्ञानेन्द्रले त्यो कदम चालेका हुन्थे भने जनताको मुटुको टुक्रा भनिएका राजा बिरेन्द्रको सुरक्षा त गर्न नसक्ने सेनाले राजा ज्ञानेन्द्रको सुरक्षा गर्न सक्थ्यो ? कि बुझ्नै नचाहने भेडा जनतालाई यो हत्या यसरी भएको थियो भन्दै उनले पनि आफू र आफ्नो परिवारको बलि चढाउनु पर्थ्यो ?यहाँ बुझ्न र अध्यन गर्न खोज्ने कोही छैन बस पार्टीको झन्डा बोक्दै नेताहरूले जे कथा सुनायो त्यसैमा होहो भन्दै सिटी बजाउन खोज्ने झुन्डहरू मात्रै छन् । छर्लङ्ग छ यी अहिलेका नेताहरू हरेक परिवर्तनको नाममा भारत नै जान्छन् अनि भारतकै इसारामा नाच्छन तर पनि हाम्रो बानी झोला बोक्ने हो बोकी नै रहन्छौ ।
केहीले प्रश्न पनि तेर्साउनु भएको छ राजा ज्ञानेन्द्रले आफ्नो शासनकालमा देश र जनताको लागी के गरे ?जबसम्म नेताहरूको राज थियो तबसम्म राजा नाम मात्रैका राजा थिए, जब उनले केही गर्ने अठोटका साथ कदम चाले तब एउटा समूहले जङ्गलबाट अझ सशक्त ढङ्गबाट वार गर्न थाल्यो भने अर्को समूह एकजुट भएर भारतसँग थुतुनो जोड्न थाल्यो तर पनि राजा ज्ञानेन्द्रले हिम्मत हारेका थिएनन्, यदि जनताले मात्रै उनलाई साथ दिएका हुन्थे भने यो १०,११ वर्षको अवधिमा बहुदल आएपछि सकेका ढालिएका उध्योग धन्धा, धरोहरहरू जुरुक्कै उठ्ने थियो । खैर इतिहास पढ्ने मात्रै हैन त्यसलाई सूक्ष्म रूपमा बुझ्ने कोसिस मात्रै गर्ने हो भने पनि अझै समय छ देशले फड्को मार्न समय लगाउँदैन ।