मयूर यातायातका चालकमाथि नै कुटपिट - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

मयूर यातायातका चालकमाथि नै कुटपिट



काठमाडौं । मयूर यातायातका चालकमाथि आइतबार साँझ कुटपिट भएको छ । काठमाडौंबाट बनेपा जाँदै गरेको बा ५ ख १५४६ नम्बरको मयूरका चालक रामेश्वर सुनुवार काभ्रेको साँगामा आइतबार साँझ कुटपिटमा परेका हुन् ।

काभ्रे मिनिबस सेवा समितिमा आवद्ध बा.५ ख २६३९ नम्बरको मिनिबसका चालक सुमन श्रेष्ठ र सहचालकहरु तीर्थ पीया, सुमन धिमाल, बीरे थापा मगर र परिचन्द्र श्रेष्ठको समूहरुले सुनुवारमाथि कुटपिट गरेको मयुर यातायातका उपाध्यक्ष चन्द्र लामाले बाह्रखरीलाई जानकारी दिए ।

सो समूहले मयूरको बसमाथि आक्रमणको प्रयास गरेको तर बसमा कुनै भौतिक क्षति नभएको उनले बताए ।
केही महिनाअघिबाट बनेपा–चक्रपथ रुटमा मयूर यातायातले २४ वटा बस सञ्चालन गरेकोप्रति संघ, समितिमा आवद्ध स्थानीय बस, माइक्रेबस व्यवसायीहरु मयूरप्रति असन्तुष्ट रहँदै आएका थिए ।

“केही समयअघिबाटै उहीहरुले कुटपिटको धम्की दिँदै आएका थिए,” लामाले भने, “उनीहरुले गाडी थन्क्याएर आएर हाम्रो गाडीका चालकमाथि कुटपिट गरेका हन् ।”

कुटपिटपछि गम्भीर घाइते भएका सुनुवारलाई तत्कालै बीएण्डबी अस्पताल लगेर उपचार गरिएको थियो ।
उपचारपश्चात सुनुवारको अवस्था सामान्य सुधारोन्मूख रहेको लामाले बताए ।

उक्त सेवा समितिको बससहित कुटपिटमा संलग्न पाँचैजनालाई नियन्त्रण लिई उनीहरुलाई सार्वजनिक मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।