कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

कञ्चनपुरमा मोटरसाइकल चालकको मृत्यु



भीमदत्तनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिराखेको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नम्बरको ट्रकमा पछाडिबाट से४त ८०२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पुर्याइएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन्।

घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रासस