प्रिमियर लिग क्लबको आम्दानी साढे ४ अर्ब पाउण्ड
लण्डन (बेलायत) । बेलायती फूटबल लीग इङ्लिश प्रिमियर लीग (ईपीएल)मा आबद्ध क्लबहरूले अहिलेसम्मकै धेरै कमाइ गरेका छन् ।
सन् २०१६–१७ को सिजनदेखि कार्यान्वयनमा आएको ३ वर्षीय टेलिभिजन प्रसारण सम्झौताका कारण ईपीएल क्लबको आम्दानी बढेको हो ।
अन्तरराष्ट्रिय लेखा परीक्षण कम्पनी डेलोइटका फूटबल व्यापार एकाइद्वारा सार्वजनिक प्रतिवेदनअनुसार गत सिजनमा क्लबहरूले साढे ४ अर्ब पाउण्ड स्टर्लिङ आम्दानी गरेका छन् । आम्दानीको यो आकार अघिल्लो सिजनको तुलनामा २५ प्रतिशत बढी हो ।
प्रतिवेदनअनुसार ईपीएलमा आबद्ध २० ओटै क्लबले सञ्चालन नाफा गरेको भए पनि १८ ओटा क्लब करपूर्वको नाफामा छन् । अघिल्लो सिजनमा थोरै करपूर्वको घाटा बेहोरेका क्लबहरूले गत सिजनमा ५० करोड पाउण्डबराबरको करपूर्वको मुनाफा कमाएका छन् ।
आम्दानी १ चौथाइ बढे पनि खेलाडीहरूको पारिश्रमिक ९ प्रतिशत बढेर २ अर्ब ५० करोड पाउण्डमा पुगेको छ । एजेन्सी