आइपिएल : हैदरावाद फेरी पराजित, चेन्नई शीर्ष स्थानमा उक्लियो
हैदरावाद– आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स पुन: शीर्ष स्थानमा उक्लिएको छ। चेन्नईले आइतबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ४ रनको झिनो अन्तरले पराजित गरेको हो।
लिगमा शीर्ष स्थानको चेन्नईको ५ खेलबाट ८ अंक छ। दोस्रो स्थानको किंग्स इलावेन पञ्जावको पनि ८ अंक नै भएपनि रनरेटमा पछि छ।
चेन्नईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १ सय ७८ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको हैदरावादका रसिद खानले अन्तिम ओभरमा १ चौका र १ छक्का मात्र प्रहार गर्न सके। अन्तिम बलमा जितका लागि ६ रन चाहिएको स्थितिमा उनले १ रन मात्र लिए। खान ४ बलमा १७ रनमा नटआउट रहे।
त्यसअघि कप्तान केन विलियमसनले ८४ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५१ बलमा ५–५ चौका र छक्का हिर्काए। खराब सुरुवात गरेको हैदरावादले ५ ओभरम भित्र महत्वपूर्ण ३ विकेट गुमाएको थियो। तर सकिब अल हसन र युसुफ पठानसँग विलियमनको जोडि जमेको थियो। सकिबले २४ र पठानले ४५ रन जोडे।
बलिङतर्फ चेन्नईका दीपक चाहारले ३ विकेट लिए।
त्यसअघि खराब सुरुवात गरेको चेन्नईले ३ विकेटको क्षतिमा १ सय ८३ रन जोडे। चेन्नईका लागि अम्बादी रायादुले ७९ रन र सुरेश रैनाले नटआउट ५४ रन जोडे। यद्यपी चेन्नईले ८ ओभरमा २ विकेट गुमाएको थियो।