खेल कुर्दै सन्दिप, जित कुर्दै डेयरडेभिल्स - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

खेल कुर्दै सन्दिप, जित कुर्दै डेयरडेभिल्स



नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्लीले लगातार चौथो हार बेहोरेको छ । शनिबार रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराउँदै पाँचौं खेलमा ‍दोस्रो जित दर्ता गर्‍यो ।

नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीको भने पाँचौं खेलमा यो चौथो हार हो। दिल्लीको पाँचौं खेलमा पनि सन्दीपले मौका पाएनन्।

बैलोरूमा १ सय ७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली बैंगलोरले एबी डि भिलियर्सको उच्च प्रदर्शनपछि ६ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो।

डी भिलियर्सले ९० रन बनाउँदै टोलीलाई दोस्रो जित लिलाए। ३९ बलमा उनले १० चौका र ५ छक्का प्रहार गर्दै नटआउट रहे।

यस्तै मन्दीप सिंहले अविजित १७ रन बनाउँदा कप्तान विराट कोहलीले ३० रन बनाएका थिए। क्विन्टन डी ककले १८ र कोरे एन्डरसनले १५ रन जोडेका थिए।

दिल्लीका ट्रेन्ट बोल्ट, ग्लेन म्याक्सवेल र हर्सल पटेलले समान १-१ विकेट लिए पनि हार टार्न सकेनन्।

यसअघि रिसव पन्त र श्रेयस ऐयरको उत्कृष्ट प्रदर्शनमा दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। रिसवले ८५ रन जोडे भने श्रेयसले ५२ रन बनाएका थिए। राहुल टेवाटियाले अविजित १३ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। कप्तान कप्तान गौतम गम्भीर तीन रनमा आउट भए भने ओपनर रोयले १६ बल खेलेर ५ रन बनाए।

बैंगलोरका युजभेन्द्र चहालले २ तथा उमेश यादव, वासिङटन सुन्दर र कोरे एन्डरसनले समान १-१ विकेट लिए।

आइपिएलमा आइतबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।