माओवादी बैठकको निस्कर्ष: माधव नेपाल एकताको बाधक ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

माओवादी बैठकको निस्कर्ष: माधव नेपाल एकताको बाधक !



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेभित्रको अन्तरविरोधका कारण वाम एकता प्रक्रिया लम्बिएको बताएका छन्।

पार्टी हेडक्वार्टर बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकता प्रक्रियामा माओवादी केन्द्रलाई बराबरी हैसियत दिन एमालेभित्रको संस्थापन पक्ष तयार भए पनि माधव नेपाल त्यसका लागि तयार नभएकाले एकता प्रक्रिया लम्बिएको बताए।

‘पार्टीभित्रको केही नेताको व्यवस्थापन गर्न २/४ जना बढी संख्या मिलाएर बराबरी गर्न ओली तयार छन्’, दाहालको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘सम्मानजनक हैसियतमा एकता गर्न अध्यक्ष ओली तयार भए पनि माधव नेपाल समूहले बराबरीमा एकता नगर्न दबाब दिइरहेको छ।’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको नेपाल समूहलाई मनाउन केही समय लाग्ने देखिएको बताएपछि एकता प्रक्रिया लम्बिएको दाहालको भनाइ छ।

‘सम्मानजनक एकता गर्ने विषयमा दुवै पार्टीको शीर्ष तहमा समझदारी थियो। तर, पछिल्लो समय एमालेभित्रको अर्को खेमाले त्यसो गर्न नहुने भनेर दबाब बढाइरहेको छ’, बैठक स्रोतले भन्यो।

बैठकमा दाहालले राजनीतिक विषयमा एकतापछि नयाँ धार बनाएर जाने विषयमा दुवै पार्टीको शीर्ष तहमा समान धारणा रहेको समेत खुलाएका थिए।

बैठकमा सहभागी अधिकांश हेडक्वार्टर सदस्यले समानता र बराबरी संख्याका आधारमा मात्र पार्टी एकता गर्न नेतृत्वलाई आग्रह गरेका थिए।