नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा
क्ले कोर्टका बादशाह मानिने स्पेनिस स्टार रफायल नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अष्ट्रियन खेलाडी डोमिनिक थिमलाई हराउँदै नाडाल किर्तिमानी १४औं पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् । स्वीस खेलाडी रोजर फेडररलाई पछि पार्दै शीर्ष वरियातामा पुनरागमनका लागि उनले यस प्रतियोगिता जित्नै पर्नेछ ।
क्ले कोर्टमा सिजनको ११औं जित हासिल गर्ने क्रममा नाडालले थिमलाई ६–० र ६–२ ले पराजित गरेका थिए । थिमलाई हराउन उनले मात्र ६७ मिनेट कोर्टमा खर्चिए । ३१ वर्षीय नाडालले सेमिफाइनलमा बुल्गेरियाका गिगर दिमित्रोभसँग खेल्नेछन् ।
दिमित्रोभ पनि बेल्जियमका डेभिड गोफिनलाई पराजित गरी सेमिफाइनलमा पुगेका हुन् । उनले पहिलो सेट ६–४ ले जिते भने दोस्रो सेटमा १–५ ले पछि रहेको स्थितिलाई उल्टाउँदै टाइब्रेकरमा ७–६ को जित हासिल गरे ।
तेस्रो क्वार्टरफाइनलमा क्रोएशियाली खेलाडी मारिन किलिक जापानी खेलाडी केइ निशिकोरीसँग पराजित हुँदा अन्तिम क्वार्टरफाइनलमा जर्मनीका अलेक्जेन्डर भेरेभले रिचार्ड ग्यास्क्वेटलाई हराए ।