दिल्लीको घरेलु मैदान संगै सन्दीपको चर्चा - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

दिल्लीको घरेलु मैदान संगै सन्दीपको चर्चा



काठमाडौँ– आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। सुरुवाती ४ मध्ये ३ खेल गुमाइसकेको दिल्ली अङ्क तालिकाको पुछारमा छ। दिल्लीले शनिवार आफ्नो पाँचौ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दै छ। खेल बैंग्लोरको घरेलु मैदानमा हुनेछ। योसँगै दिल्लीको पहिलो चरणका पाँच अवे खेल सकिनेछन्।

त्यसपछि सोमबार दिल्लीले घरेलु मैदान फिरोज शाह कोटलामा खेल्नेछ। दिल्लीले सिजनको पहिलो होम म्याच किंग्स इलावेन पञ्जावसँग खेल्नेछ।

अवे म्याचमा खराब प्रदर्शन गरेको दिल्ली घरेलु मैदानमा राम्रो सुरुवात गर्न चाहान्छ। दिल्लीको फिरोज शाह कोटलाको विकेट स्पिनरका लागि सबैभन्दा राम्रो मानिएको छ। जहाँ अनिल कुम्बलेले टेस्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिएका थिए।

पछिल्लो पटक भएको भारत र न्युजिल्यान्डबीच खेलिएको टी–२० खेलमा पनि १० मध्ये ६ विकेट स्पिनरले लिएका थिए। यहाँ तीव्र गतिका बलरले १० को इकोनोमीमा रन दिने रेकर्ड छ भने स्पिनरको इकोनोमी ६.३३ हुने गरेको छ।

दिल्लीको टिममा रहेका तीन स्पिनरले अहिलेसम्म मौका पाएका छैनन्। तीन मध्ये नेपालका युवा स्पिनर सन्दीप लामिछानेले मौका पाउन सक्ने दिल्लीको आधिकारिक वेभ पोर्टलमा उल्लेख छ। साथै सन्दीपले फिरोज शाह कोटलामा राम्रो प्रदर्शन गर्न सक्ने दिल्लीको दाबी छ।

यसअघि दिल्लीको आधिकारिक वेभ पोर्टलले कोलकतासँगको हारका पाँच कारण विश्लेषण गर्दा पनि सन्दीपलाई मौका दिनु पर्ने बताएको थियो। दिल्लीको विश्लेषणको अन्त्यमा आगामी खेलमा अनुभवी स्पिनर अमित मिश्रा र नेपालका शेन वार्न सन्दीपलाई मौका दिनु पर्ने भनिएको थियो।

आइपिएलमा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर बन्दै इतिहास बनाएका सन्दीपले सुरुवाती चार खेलमा मौका पाउन सकेका छैनन्। चार जना मात्र विदेशी खेलाडीले एउटा खेलमा खेल्न पाउने निमयअनुसार सन्दीपलाई दिल्लीको पहिलो रोजाइको टिममा पर्न भनै कठिन छ। विदेशी खेलाडीको रूपमा आबद्ध तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र ओपनिङ ब्याट्सम्यान जासन रोएले राम्रो प्रदर्शन गरिरहेका छन्। यस्तै ग्लेन म्याक्सवेल र क्रिस मोरिस पनि दिल्लीका राम्रा अलराउन्डर हुन्। यी चार मध्ये एक खेलाडीलाई हटाएर सन्दीपलाई टिममा राख्नु दिल्लीका लागि कठिन र चुनौतीपूर्ण निर्णय हो।