म्यानचेस्टर युनाइटेडले जित्यो, जोसेको प्रदर्शन कस्तो ? - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

म्यानचेस्टर युनाइटेडले जित्यो, जोसेको प्रदर्शन कस्तो ?



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

यसअघि गएको आइतबार लिगमै पुछारको वेष्ट ब्रोमसँग पराजित भएको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनायटेडले बुधबार रातिको खेलमा बोर्नमाउथलाई २–० ले हराएको हो ।

अवे मैदानमा भएको खेलमा युनाइटेडको जितमा क्रिस स्मोलिङ्ग र रामेलु लुकाकुले गोल गरे । स्मोलिङ्गले खेलको २८ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

युनाइटेडका लागि लुकाकुले ७० औँ मिनेटमा गोल गर्दै २–० को जित पक्का गरेका हुन् । जितपछि दोस्रो स्थानको युनाइटेडको लिगका चार खेल बाँकी हुँदा ७४ अंक भएको छ र उ तेस्रो स्थानको लिभरपुल भन्दा चार अंकले अघि रहेको छ ।

मोरिन्होले वेष्ट ब्रोमसँगको खेलमा अप्रत्यासित हार पछि यो खेललाई एफए कप फुटबलको सेमिफाइनल खेल्ने टिममा आफ्नो नाम समावेश गराउन खेलाडीका लागि अवसर रहेको बताएका थिए ।

मोरिन्होले आइतबारको खेलमा खराव प्रदर्शन गर्ने र बोर्नमाउथसँगको खेलमा आफूलाई प्रमाणित गर्न नसक्ने खेलाडीलाई आउँदो शनिबार टोटनह्यामसँगको एफए कप सेमिफाइनलमा समावेश नगरिने बताएका थिए ।

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले पक्का गरिसकेको र च्याम्पियन्स लिगबाट बाहिरि सकेको अवस्थमा युनाइटेडका लागि यो सिजन उपाधि जित्ने अन्तिम आशको रुपमा एफए कप रहेको छ ।

यो जितले खेलाडीको एटिच्युड, व्यवसायिकता र जित्ने चाहलाई देखाएको मोरिन्होले बताएका छन् ।