पशुपति क्षेत्रलाई नमुना बनाइने: पर्यटनमन्त्री - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

पशुपति क्षेत्रलाई नमुना बनाइने: पर्यटनमन्त्री



काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहूँ, बसिरहूँ लाग्नेगरी पूर्वाधार निर्माण गर्न ६ महिनाभित्र गुरुयोजना बन्नुपर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने भनाइ राखे। रुद्राक्ष, कपूर लगायत ५ हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए।

‘पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ,’ उनले भने, ‘आर्थिक वर्ष २०७५/७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ। २० प्रतिशत सम्पदा निर्माणको काम आव २०७६/७७ सम्म सकिनेछ।’

कोषका सदस्यसचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माण लगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए।