विप्लवलार्इ झट्का
धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० जना नेता कार्यकर्तालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । मंगलबार बन्द आव्हान गरेको दिन उनीहरुलाई धरानको दक्षिणी क्षेत्रमा रहेको चारकोसे जंगलसँग जोडिएको हरियाली सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको हो ।
नेकपाले गत चैत ५ गते धनकुटाबाट पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जनाको रिहाईको माग गर्दै पार्टीको पूर्वी कमाण्डले मंगलबार मेचीदेखि जनकपुरसम्म बन्दको घोषणा गरेका थिए ।
इप्रकाका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामेश्वर पौडेलकाअनुसार पक्राउ पर्नेहरूमा दैलेख घर बताउने शिक्षक संगठनका उपाध्यक्ष लक्ष्मीराम ढकाल, काठमाडौं घर बताउने महासचिव रमेश रुपाखेती, भोजपुर षडानन्द नगरपालिका-५ घर बताउने संगठनका केन्द्रीय सदस्य गोविन्द खड्का, ईलाम नगरपालिका-५ घर बताउने जिल्ला सदस्य प्रेम तामाङ, ताप्लेजुङको फुङलिङ-२ बस्ने जिल्ला अध्यक्ष युवराज गौतम, जिल्ला सदस्य जीननाथ भट्टराई, फुङलिङ-४ बस्ने जिल्ला उपाध्यक्ष सुशीला गौतम, ताप्लेजुङकै जिल्ला सदस्य गणेश लिम्बू, खोटाङ ऐँसेलुखर्क-६ बस्ने जिल्ला सदस्य जीवन राई र इलाम-३ बस्ने जिल्ला सदस्य खिममाया परियार रहेका छन् ।
पक्राउ परेकाहरु शिक्षक नभए सबैलाई म्याद थप गरेर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइने छ ।