एकताको ‘ब्रेक’ फेल !
काठमाडौं– मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ ।
समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो ।
यस अघि भएको भनिएको आलोपालो प्रणाली अनुसार सरकारको नेतृत्व गर्ने सहमतिलाई पार्टी एकता अगाडि नै मूर्त रुप दिनुपर्ने विषयमा माओवादी नेताहरुले चासो राखेका थिए ।
‘सहमति’ को विषय पार्टीको संस्थागत निर्णय बनाउने विषय प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली अनिश्चिुक देखिएपछि तत्कालका लागि एकता प्रक्रियामा ‘ब्रेक’ लागेको बैठकमा सहभागी ती नेताले बताए ।
यस अघि ओली र प्रचण्डले अढाई–अढाई बर्ष सरकारको नेतृत्व गर्ने गरी बामगठबन्धन बनेको समाचार बाहिर आएको थियो । तर, यो औपचारिक निर्णयका रुपमा भने आएको थिएन् ।
पार्टी नेतृत्वको विषयमा भने ओली र प्रचण्ड दुवै महाधिवेशनसम्म अध्यक्ष रहने गरी जाने विधान मस्यौदा बनाइएको छ । विधानमा दुवै अध्यक्ष रहने भन्दै उनीहरुको भूमिका पनि तय भएको छ ।
आफ्नो भूमिकाकावारे प्रचण्डले एक अन्तर्वार्तामा संकेत गरिसकेका छन् । ‘मलाई विश्वास छ, वामपन्थी एकता, कम्युनिस्ट एकताको पनि मैले नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ भन्ने मेरो विश्स्वास छ । पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई ?’ प्रचण्डको पछिल्लो अन्तर्वार्तामा छ ।
आजको बैठकमा सहमति जुटन नसकेपछि सहमति जुटाउने जिम्मा बैठकले दुवै पार्टीका अध्यक्षलाई दिएको छ ।
चुनाव चिन्ह, जनयुद्ध शब्द र केन्द्रीय कमिटिमा सहभागीताजस्ता विषयमा एमाले र माओवादीवीच अझै कुरा मिलेको छैन । कार्यदलले अपुरो प्रतिबेदन दिएको छ ।