अचम्म ! सरकारी कार्यालयमा खाली खुट्टा - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

अचम्म ! सरकारी कार्यालयमा खाली खुट्टा



सुन्दा अचम्म लाग्न सक्छ, सरकारी कार्यालयमा सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ। तर, यो सत्य हो बबरमहलमा रहेको न्याय सेवा तालिम केन्द्रमा ८ वर्षदेखि यस्तो व्यवस्था गरिएको छ।

केन्द्रका सूचना अधिकारी रमेशकुमार उपाध्याय लुइँटेलका अनुसार सेवा लिन जो गए पनि जुत्ता चप्पल फुकालेर भित्र पस्नुपर्छ। ‘सानो ठूलो मान्छे भन्ने नै हुँदैन, यो हाम्रो नियम नै हो, प्रधानमन्त्री आउँदा पनि जुत्ता चप्पल खोलेरै भित्र पस्नुहुन्छ, शुरुमा यो अभियान कस्तो होला भन्ने लागेको थियो तर अब स्वाभाविक लागेको छ’, लुइँटेलले भन्नुभयो– ‘शुरुमा असहज जस्तो लागे पनि प्रयोग गर्दै गएपछि साँच्चै राम्रो काम गरेछौं भन्ने लागेको छ।’ तालिम प्रमुख रामकुमार आचार्य रहँदा १ चरणमा कार्यालयभित्र आन्तरिक छलफल गरेर यस्तो अभियानको थालनी गरिएको हो।

‘जो आए पनि राम्रो काम भनेका छन्, अरूले पनि यस्तै अभियान चलाउने प्रतिबद्धता जनाएर जानुुहुन्छ’, उहाँले भन्नुभयो– ‘कसैलाई भन्नै पर्दैन बाहिर सूचना छ, अरूले गरेको देखेर पनि व्यवहारमा उतार्नुहुन्छ।’

केन्द्रमा करारसहित २१ जनाको दरबन्दी रहेको छ। तालिम प्रमुख कलानिधि पौडेल प्रदेश सचिव भएर गएपछि अहिले पुष्करराज नेपाल निमित्तको जिम्मेवारीमा हुनुहुन्छ।

यहाँ बाहिर २२ जोर चप्पल राखिएका छन् तर कर्मचारीबाहेक अरूले प्रयोग गर्न पाउँदैनन्। शौचालय पनि घर जस्तै राम्रो बनाउनुपर्छ भनेर सबै कर्मचारीले विशेष ध्यान दिँदै आएको कार्यालयले जनाएको छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।