डा. भट्टराई एक साता भारत बस्दै
काठमाडौं-
नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदै छन् ।
पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने छन् ।
नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले केही राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् ।
मिडिया सेन्टरले दिएको जानकारी अनुसार डा. भट्टराईले बैंगलोरमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिने छन् । उनी नयाँदिल्ली, मुम्बई र तमिलनाडुसमेत पुग्ने र नेपालीहरुको समस्या समाधानका विषयमा परामर्श गर्ने नयाँ शक्तिले जनाएको छ ।
भट्टराईले धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थानहरुको भ्रमण पनि गर्नेछन् । उनको साथमा ८८ वर्षीय बुबा भोजप्रसाद भट्टराई पनि रहनेछन् । बुबासँगै भट्टराईले रामेश्वरम र द्वारकाधामको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
डा. भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किने नयाँ शक्ति पार्टी नेपालको मिडिया सेन्टरले जनाएको छ ।