नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ: कांग्रेस महामन्त्री - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ: कांग्रेस महामन्त्री



दाङ- नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाले खुमबहादुर खड्काको १३ औँ दिनको श्रद्धाञ्जलि सभामा बोल्दै ८० प्रतिशत नेपालीहरु हिन्दु धर्ममा आस्था राख्ने हुनाले नेपाल हिन्दु धर्म कायम गर्नतर्फ नेपाली कांग्रेसले सोच्नुपर्ने बताएका छन्।

‘खुमबहादुरजीको पनि चाहना त्यही थियो, हिन्दु राज्य कायम गरेपछि मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ’, कोइरालाले सभामा बुधबार भने।

खड्काले हिन्दू राष्ट्र र राजतन्त्रका पक्षमा वकालत गर्दै आएका थिए।

कार्यक्रममा खुमबहादुर खड्काको पक्षमा पार्टी नेतृत्वले केही पनि गरेन भन्‍नु गलत हुने पार्टी सभापति शेरबहादुर देउवाले बताएका छन्।

दाङ लमही नगरपालिका वडा नं. ८ गोझेनामा आयोजना गरिएको १३ दिनको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने खड्का पक्षधरका अधिकांश केन्द्रीय सदस्यले पार्टी नेतृत्वले खुमबहादुर खड्कालाई जिम्मेवारी नदिएर बेवास्ता गरेको आरोप लगाएका थिए।

महाधिवेशनमा खड्कालाई उपसभापति बनाउने आश्वासन देउवाले दिएपनि चुनाव जितेपछि खड्कालाई जिम्मेवारी नदिएर बेवास्ता गरेको आरोप लाग्दै आएको छ।

देउवाले केही नेताहरुले खड्काप्रति पार्टी नेतृत्वले बेवास्ता गर्‍यौ भन्नु गलत भएको दाबी गर्दै सोचेर बुझेर मात्रै बोल्न आग्रह गरे। ‘केही पनि गरेन भनेर भन्नुभयो, सोचेर बोल्नुपर्छ, भाइहरुलाई सोचेर बोल्न आग्रह गर्छु’, देउवाले भने। काग्रेसलाई रक्षा गर्न एकजुट भएर लाग्न आवश्यक रहेको भन्दै देउवाले पार्टीलाई एकजुट बनाएर लाग्नु नै खड्काप्रति सच्चा श्रद्धाञ्जली हुने तर्क गरे।

कार्यक्रममा सहभागी स्वर्गीय खुमहवादुर पक्षधरका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वले आफू निकटहरुलाई काखी च्याप्दै खुमबहादुरको  अपमान गरेको आरोप लगाएका थिए। श्रद्धाञ्जलि सभामा केन्द्रिय सदस्य तथा पदाधिकारी सहित प्रदेश नं. ५, ६ र ७ का कांग्रेस नेता तथा कार्यकर्ताहरु सहभागी थिए।