अल्जेरिया: विमान दुर्घटना, एक सयभन्दा बढीको मृत्यु, उद्धार कार्य जारी - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

अल्जेरिया: विमान दुर्घटना, एक सयभन्दा बढीको मृत्यु, उद्धार कार्य जारी



एजेन्सी- अल्जेरियामा सैनिक विमान दुर्घटनामा परेको छ। सो दुर्घटनामा १ सयभन्दा बढीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ। मृत्यु हुनेको संख्या करिब २ सयसम्म पुग्नसक्ने अनुमान गरिएको छ। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान दुर्घटनामा परेको हो।

हवाइजहाजको पछाडीको भागमा आगो लागिरहेको दृश्य अल्जेरियाली टेलिभिजनहरुले प्रशारण गरिरहेका छन्। जहाजको पछिल्लो भाग जैतुनको रुखमाथि अड्किएर जलिरहेको दृश्य भिडियो फुटेजमा देख्न सकिन्छ।

घटनास्थलमा सैनिक, प्रहरी तथा अग्नी नियन्त्रकहरुले उद्दारका कार्य सुरु गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्‍याइरहेका छन्।

विमानमा कति जना सवार थिए र कति संख्यामा यात्रुको मृत्यु भएको हो भन्ने यकिन संख्या खुल्न सकेको छैन।

अल्जेरियाली प्रेस सेवाले दिएको जानकारीअनुसार विमान अल्जेरियाको दक्षिण–पश्चिमी शहर बेचारका लागि उडेको थियो।

सो सैनिक विमानस्थल अल्जेरियाको राजधानी अल्जियर्सबाट ३० किलोमिटरको दुरीमा अवस्थित छ।

अल्जेरियामा ४ वर्षअघि सैनिक सेवामा रहेका कर्मचारी र तिनका परिवार बोकेको सैनिक विमान दुर्घटनामा परी ७७ जनाले ज्यान गुमाएका थिए।