यसरी बन्छ काठमाडौंमा १५ सयमै डिग्रीको सर्टिफिकेट ! - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

यसरी बन्छ काठमाडौंमा १५ सयमै डिग्रीको सर्टिफिकेट !



काठमाडौं । १५ सय रुपैयाँमै त्रिभुवन विश्वविद्यालयको होलोग्राम भएको जुनसुकै तहको सर्टिफिकेट बन्छ भन्दा पत्याउन मुस्किल पर्छ । अझ सर्टिफिकेटसँगै बैंक ब्यालेन्स, स्टेटमेन्ट, सेना–प्रहरीमा जागिर खाएको प्रमाणपत्र पनि सहजै उपलब्ध हुन्छ भन्दा कसले पत्याउला ?

तर, एक समूहले यो सबै काम गर्दै आएको थियो काठमाडौंमै । महानगरीय अपराध महाशाखाको टोलीले नक्कली कागजात बनाउने गिरोहको नाइकेलाई पक्राउ गरेपछि यसको पर्दाफास भएको छ । प्रहरीले यो कार्यमा संग्लन रहेको आरोपमा सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बलबहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापालाई समातेको छ ।

महाशाखाको टोलीले सूचनाको आधारमा काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरमा नक्कली प्रमाणपत्र र विभिन्न सरकारी तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका राउत कोठा भाडामा लिएर विगत ४ वर्षदेखि यस्तो किर्ते कार्यमा संग्लन रहेका थिए ।

महानगरीय अपराध महाशाखाका एसपी उमाशंकर पञ्जियारका अनुसार पोल्याण्ड जानका लागि पाँच हजारमा एसएलसीको सर्टिफिकेट किनेका खुमानसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यो गिरोहको पोल खुलेको हो । राउतले ट्रान्सक्रिप्ट र सवारीचालक अनुमतिपत्रमा प्रयोग हुने होलोग्राम भारतबाट ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार राउतले हालसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाइसेन्स र १५० थान प्रहरी रिपोर्ट बनाएको खुलेको छ ।
प्रहरीले राउतको कोठाबाट होलोग्राम, छाप, कम्प्युटरलगायत र केही नगद पनि बरामद गरेको छ । प्रहरीले तीनै जनालाई सरकारी कागजात किर्ते गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट मुद्दा चलाइने बताएको छ ।

फोटो: बाह्रखरी