आईजीपी को बन्ला ? यस्तो भन्छन बादल ! - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

आईजीपी को बन्ला ? यस्तो भन्छन बादल !



भरतपुर : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका लागी कुनै चलखेल नहुने बताएका छन् । न्यायसंगत र वैधानिक ढंगले आईजीपी नियुक्ति हुने स्पष्ट पारे ।

भरतपुर विमानस्थलमा प्रेस सेन्टर र प्रेस चौतारी नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले एआईजीको सेवा अवधि सकिएपछि नियमित प्रकृयाबाट नियुक्ति गर्ने दावी गरे । ‘अब हुने नियुक्ति बैधानिक र न्यायसंगत होस् भन्नेमा छौ’ थापाले भने‘, भविष्यमा पहिलाको जस्तो चलखेल नगरी निश्चित प्रकृया अनुसार नियुक्ति हुने छ ।’

उनले विप्लब नेतृत्वको माओवादीले अतिवादी गतिविधि गरेको आरोप समेत लगाएका छन् । नेपालको संविधान र कानुन विपरित गैरराजनितिक काम गरेको भन्दै त्यसलाई नियन्त्रण गर्ने बताए । जनप्रतिनिधिलाई राजीनामा गर्न दबाब दिनेगरी पत्र पठाएर हिंसात्मक गतिविधि गर्न खोजेको भन्दै त्यस्तो अतिवादी गतिविधि नियन्त्रण गर्ने गृहमन्त्रालयको प्रमुख जिम्मेवारी भएको उनले बताए।

‘जनप्रतिनिधिलाई पत्र लेखेर राजीनामा दिने पत्र पठाएर हिंसात्मक काम गरेका छन्’ थापाले भने ‘,यस्ता किसिमको अतिवादी काम रोक्ने गृह मन्त्रालयको प्रमुख जिम्मेवारी हो ।’

मुलुकलाई फेरी द्वन्द्वद्धको स्थिती सिर्जना गरेर अस्थिरतातर्फ धकेल्न खोजे त्यसलाई विफल पार्ने उनले बताए । मन्त्री थापाले गैर राजनितिक गतिविधिमा सक्रिय रहेको भन्दै राजनैतिक मुद्धा भए राजनैतिक तवरले हल गर्न चुनौती समेत दिए । उनले सुशासन, समृद्धि र विकासको लागि गहृ मन्त्रालयले कार्ययोजना घोषणा गरिसकेको जानकारी गराउँदै जनताले अपेक्षा गरे अनुसार सुसासन र स्थायित्व दिने दावी गरे ।