पाकिस्तान बिरुद्ध ओलीलाई प्रयोग गर्ने मोदीको चाल !
भारत–पाकिस्तान द्वन्द्वका कारण रोकिएको सार्क सम्मेलन इश्लामावादमा आयोजना गर्न काठमाडौंले पहल लिए सकारात्मक बन्ने संकेत दिल्लीले दिएको छ।
प्रधानमन्त्री केपी ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्तामा इश्लामावाद सम्मेलन आयोजना गरी दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनु पर्ने प्रस्ताव राख्ने नेपाली अधिकारीहरूले जनाएका छन्।
नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो। केही साताअघि काठमाडौं आएका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले पनि अध्यक्ष राष्ट्रको नाताले नेपालले पहल लिनु पर्ने आग्रह गरेका थिए।
प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिल्लीको सात रेसकोर्समा भएको एक्लाएक्लै भेटमा पनि सार्कको विषयमा चर्चा भएको स्रोतहरूले दावी गरेका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सार्कको विषयमा दिल्ली सकारात्मक देखिएको जनाउँदै भने, ‘शनिबार दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि सार्क सक्रिय हुने बाटो खुल्ने विश्वास हामीले लिएका छौं।’
तर काठमाडौंको पहलले मात्र नभएर दिल्ली आफैं पनि अहिले फेरि इश्लामावादसँग सम्बन्ध सुधार गर्ने प्रयासमा रहेको देखिएको छ। र, सार्क सम्मेलनको क्रममा प्रधानमन्त्री मोदीको पाकिस्तान भ्रमणबाट त्यसको थालनी हुन सक्ने दिल्लीका सुरक्षा अधिकारीहरूको दावी छ।
‘सार्क अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री ओलीले सार्कलाई सक्रिय बनाउने प्रस्ताव राखे भने मोदीले सहमती जनाउने छन्’, दिल्लीका एक जना रक्षा विश्लेषकले भने, ‘छिमेकीसँग सम्बन्ध सुधार्ने प्रयासमा रहेका मोदीको अर्को गन्तव्य इश्लामावाद हुन सक्नेछ, संभवतः यो वर्ष नोभेम्बरमा सार्क सम्मेलन आयोजना गरिने छ।’
दिल्लीको साउथ ब्लक निकट ती विश्लेषकका अनुसार सार्कलाई सक्रिय बनाउने बहाना बनाएर अहिले दिल्ली र इश्लामावादबीच भित्रभित्रै वार्ता चलिरहेको छ।
अर्को वर्ष हुने निर्वाचनअघि छिमेकीहरूसँग सम्बन्ध सुधार गर्नै पर्ने दबाबमा रहेका मोदीले चीन र नेपालसँगको सम्बन्ध सामान्य बनाउँदै अब पाकिस्तानलाई हेर्न थालेको चर्चा दिल्लीमा सुनिन्छ।
पहिलो पटक प्रधानमन्त्री भएपछि सपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्रका सरकार प्रमुखलाई दिल्ली निम्त्याएर ‘छिमेक पहिलो’ नीति अख्तियार गरेका मोदी पछिल्ला वर्षहरूमा छिमेकीबाट एक्लिँदै गएका थिए। चीनसँग दोक्लम, नेपालसँग नाकाबन्दी र श्रीलंका तथा मालदिभ्समा राजनीतिक हस्तक्षेपका कारण यो क्षेत्र र भारतभित्रै पनि मोदीको लाकिप्रियता खस्किँदै गएको थियो।
भारतको दैनिक पत्रिका टाइम्पस अफ इण्डियामा शुक्रबार प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘सार्क सबै दक्षिण एसियाली देशको साझा चौतारी’ हो भन्दै पाकिस्तानसँग मात्र जोडेर यो विषयलाई नहेर्न आग्रह गरेका छन्। ओलीले यो अन्तर्वार्ताबाट नै दिल्लीलाई एउटा सन्देश दिन खोजेका छन्।
भारतको नुरीमा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै सार्कलाई निष्क्रिय तुल्याएका मोदी अर्को निर्वाचन जित्नका लागि मात्र छिमेकी देशसँग सम्बन्ध सुधार गरेको देखाउन चाहन्छन् वा साँच्चिनै ‘छिमेक पहिलो’ नीति नै लागू गर्दैछन् भन्ने निर्वाचनपछि मात्र प्रष्ट हुनेछ। संकलन