वाइडबडी विमानको व्यावसायिक उडान असारदेखि
काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ ।
निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ ।
वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमको तयारी छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापन सुधारबारे हालै गरेको पत्रकार सम्मेलनका क्रममा निगमको वाइडबडी विमान जेठको तेस्रो साता आउने र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडानको अनुमतिलगायतका प्रक्रिया पूरा गरेपछि उडान शुरु गरिने बताए ।
विमान आएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गरिने उनले बताए ।
निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा विमान २०९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ ।
उक्त सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने भनिएको थियो । तर, झण्डै दुई महिनापछि पहिलो विमान आउने भएको हो ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार २८० सिट यात्रु क्षमताको वाइडबडीे विमान आएको १५ दिनभित्र व्यावसायिक उडान शुरु गरिनेछ । पहिलो विमान आएलगत्तै अर्को विमान भित्र्याउने निगमको योजना छ ।
निगमको इतिहासमै पहिलोपटक नयाँ वाइडबडी विमान खरिद गरेर व्यावसायिक उडान भर्ने तयारीमा रहेको निगमले वार्षिक कम्तीमा रु पाँच अर्बको व्यापार बढ्ने दाबी गरेको छ ।
सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ । जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ ।
विदेशबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा छ ।
वाइडबडी विमानका गन्तव्य
निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । ती उडान गन्तव्य तय गर्नका लागि आवश्यक कार्यसमेत शुरु गरिसकेको निगमले जनाएको छ । प्रमुख लक्ष्य विदेशी पर्यटक भित्र्याउने भए पनि नेपालीसमेत बढी आउने गन्तव्यमा उडान गर्न लागेको हो । कोरिया, जापान र साउदी अरेबियाबाट धेरै नेपाल आउने गरेको बताइन्छ ।
निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।
आन्तरिकतर्फ नौवटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन् । काठमाडौँबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दैआएको छ ।
निगमको न्युयोर्क गन्तव्य
निगमले अन्तर्राष्ट्रिय उडानमा विमान बढाउँदै भविष्यमा अमेरिकाको राजधानी न्युयोर्क गन्तव्य पुर्याउने लक्ष्य लिएको छ । निगमका महाप्रबन्धक कंसाकारले आफूहरुको मुख्य उद्देश्य न्युयोर्क पुर्याउने रहेको र त्यसअनुरुप व्यवस्थापकीय योजनामा भएको बताए ।
“हाम्रो उद्देश्य न्यूयोर्क पुर्याउने नै हो, बेलायतको लण्डन अर्को हव रहेपनि पर्यटनका लागि पनि न्यूयोर्क पुग्नैपर्छ जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायत गन्तव्यमा नपुगी सुखै छैन,”– उनले भने । महाप्रबन्धक कंसाकारले निगमलाई चलायमान र विश्व बजारमा प्रतिस्पर्धी बनाउन वार्षिक दुईदेखि चारवटा विमान थप्नैपर्ने बाध्यता रहेको उल्लेख गरे ।
डेढ वर्षभित्र आठ विमान
निगमले सेवा सुधार्ने कार्ययोजनाअन्तर्गत आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने योजना बनाएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुबैतर्फ विमान थप्दै निगमको कूलआय बढाउँदै लैजाने जनाएको हो ।
आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी ९ए३२०–२००० विमान खरिद गरिने निगमका महाप्रबन्धक कंसाकारले जानकारी दिए । नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरमा नै हवाई सुरक्षाको प्रत्याभूति गराउने निगमले जनाएको छ । रासस