खेलकूदको विकासले राष्ट्रको पहिचान बन्छ: प्रचण्ड
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् ।
अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताए ।
‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकतावद्ध गर्नका निम्ति पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो’ उनले भने, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’
अध्यक्ष प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको अहिले पनि टेबुल टेनिस खेल्ने गरेको बताए ।
‘मैले रामपुरमा बिएस्सी पढ्दै गर्दा टेबुल टेनिस सिकेको हो । र, शान्ति सम्झौतापछि मैले नियमित टेबुल टेनिस खेल्न थालेको पनि १०–१२ वर्ष हुन लाग्यो,’ उनले भने ‘मैले प्रधानमन्त्री हुँदा पनि टेवुल टेनिस खेल्न छाडिनँ । बरु, बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घरै बनाएको छु ।’