एकता झनै टाढा, चुनाव चिह्न र जनयुद्धमा अझै सहमति जुटेन !
काठमाडौं । नेकपा एमाले–नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक विनानिश्कर्ष सकिएको छ । कार्यदलमा सहमति नजुटेका विषयमा छलफल गर्न बिहिबार बिहान ९ बजेदेखि बसेको बैठक विनानिश्कर्ष सकिएको छ ।
एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठका अनुसार नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि २७ गते मात्रै छलफल गरेर टुङग्याउने विषयमा कुराकानी भएको छ । उनकाअनुसार ‘पार्टी एकता घोषणा बैशाख ९ मा गर्ने सहमति भयो, एकता घोषणासभाका लागि त्यसअघि देशभर प्रचारप्रसार गर्ने निर्णय भयो ।’ एमाले र माअोवादी नेता कार्यकर्ताहरूलार्इ ९ गते हुने एकताको तयारी थाल्न निर्देशन दिएका छन् ।
बैठकमा सहभागि अर्का एक नेताले बताएअनुसार एकीकृत पार्टीको चुनाव चिह्न के हुने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने की नराख्ने भन्ने विषयमा अोली भारत भ्रमणबाट अाएपछि छलफल हुने बताइएको छ । माओवादी नेताहरुले सूर्यसँगै हँसिया हथौडा पनि चुनाव चिह्न राख्दा एकताको भावना झल्किने तर्क गर्दै आएका छन् भने एमाले नेताहरुले सबैले चिनिसकेको र लोकप्रिय रहेकाले सूर्य मात्रै चुनाव चिह्न राख्नुपर्ने अडान राख्दै आएका छन् ।