नियम विपरीत शैक्षिक शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई शिक्षा मन्त्री पोखरेलको निर्देशन - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

नियम विपरीत शैक्षिक शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई शिक्षा मन्त्री पोखरेलको निर्देशन



काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र नभएको भन्दै अनावश्यक शुल्क नलिन विद्यालय सञ्चालकहरुलाई सचेत तुल्याए। नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासाहरु आएको बताउँदै मन्त्री पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिए।

‘मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस्’, उनले भने।

अर्को प्रसंगमा मन्त्री पोखरेलले विद्यार्थीलाई पुस्तकको भारी बोकाएर ज्ञान नबढ्ने पनि टिप्पणी गरे।

‘विद्यार्थीले बोक्नै नसक्नेगरी अव्यावहारिक ढंगले पुस्तक किन्न लगाउनु गलत हो’, मन्त्री पोखरेलले भने, ‘सामाजिक न्यायमा आधारित रहेर काम गर्नुस्।’

समुदायमा आधारित शिक्षा हुनुपर्नेमा जोड दिँदै पोखरेलले निजी, सहकारी र सार्वजनिक तिनै निकायसँग सहकार्य गर्न शिक्षा मन्त्रालय तयार रहेको समेत बताए।