चर्को आलोचनापछि पत्रकारलाई कारबाही गर्ने आदेश फिर्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले असत्य समाचार लेखेको वा प्रसारण गरेको आरोप लागेका पत्रकारलाई कारबाही गर्न जारी गरिएको आदेश फिर्ता लिन निर्देशन दिएका छन्।
भारतकी केन्द्रीय सूचना तथा प्रसारण मन्त्री स्मृति इरानीले असत्य समाचार बनाएको गरेको पाइए सरकारले पत्रकारहरूलाई दिएको मान्यता निलम्बन गर्ने भन्दै विज्ञप्ति जारी गरेकी थिइन्।
उनले पत्रकारलाई सरकारी निकायबाट मान्यता प्रदान गर्ने आधार मानिएको निर्देशिकामा संशोधन गर्ने प्रस्ताव पनि गरेकी थिइन्।
आलोचना
भारतका पत्रकार र सम्पादकहरूले ‘प्रेसमाथिको आक्रमण’ भनेर त्यो आदेशको आलोचना गरेका थिए।
सरकारी निकायमा दर्ता नगरिएको एउटा वेब्साइटमा मुसलमानहरूले एक जना भिक्षुलाई आक्रमण गरेको भन्दै केही समयअघि एउटा असत्य समाचार प्रकाशित भएपछि त्यसको सम्पादकलाई पक्राउ गरिएको थियो।
असत्य समाचारबारे कुनै कानुन नभएपनि भारतमा धार्मिक सद्भाव बिथोल्ने खालका सामग्रीको प्रकाशनलाई अपराध मानिन्छ।
रिपोर्टर्स विदाउट बोर्डर्सले गत वर्ष तयार पारेको सूचकाङ्कका आधारमा भारत प्रेस स्वततन्त्रतामा १८० देशमध्ये १३६ औँ स्थानमा छ। बिबिसी