क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने मेयर रेणु दाहालको घोषणा
भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
महानगरले आज पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेकेा बताएको छ ।मेयर रेनु दाहालले चितवन देशकै मध्यभाग भएको र चितवन पायक पर्ने ठाँउ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणा गरिन । भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले जानकारी दिइन् ।
महानगरका तर्फबाट आज नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ ।चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा छ । थप अन्य जग्गा समेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत गत बर्ष ५० लाख रकम रंगशाला निर्माणमा विनियोजन गरेका थिए । तर, १९ लाख ३० हजार मात्रै खर्च भएको छ । बाँकी रकम फि्रज भयो । चित्रवनको खाली १ सय ७० विगाहा जग्गा मध्ये १० विगाहा रंगशाला निर्माणका लागि छुट्याइएको हो ।
भरतपुर महानगरले चालु बर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै एक करोड रकम विनियोजन गरेको छ । सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।