शहरको विकाससँगै अब नगर र गाउँको पनि विकास हुन्छ : नेता श्रेष्ठ - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

शहरको विकाससँगै अब नगर र गाउँको पनि विकास हुन्छ : नेता श्रेष्ठ



गोरखा- नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पालुङटारलाई ४ नम्बर प्रदेशको नमुना नगर बनाउने बताएका छन्।

गोरखाको पालुङटार नगरपालिका-६ गाईखुर, कालामाटामा आयोजित तालपोखरी मेलालाई सम्बोधन गर्दै श्रेष्ठले पालुङटारमा रहेको विमानस्थल सुचारु गर्ने, ताल पोखरी, तालदेवी मन्दिर, चेपे, मर्स्यादी, लिगलिगकोट लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताए।

प्रस्तावित स्मार्ट सिटीको रुपमा रहेको पालुङटारलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले कृषि क्याम्पस स्थापना गर्ने, औद्योगिक करिडोर स्थापना गर्ने र सडकको स्तरोन्नतिका लागि आफैंले अगुवाइ गर्ने समेत उल्लेख गरे।

‘स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँथग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउँछु’, श्रेष्ठले भने, ‘खुसी गोर्खाली, समृद्ध गोरखा जिल्ला अभियानमा समर्पित छु।’

विकासका लागि स्थानीय सामाजिक संस्था, बुद्धिजीवी र जनप्रतिनिधिको साथको अपेक्षा राखेको बताउँदै श्रेष्ठले भने, ‘विकास शहरकेन्द्रित भयो। शहरको विकाससँगै अब नगर र गाउँको पनि विकास हुन्छ।’