यस्तो छ १३ शीर्षक ४२ पृष्ठको राजनीतिक प्रतिवेदन
काठमाडौं – एमाले-माओवादी एकताको महत्वपूर्ण राजनीतिक दस्ताबेज ‘अन्तरिम राजनीतिक प्रतिवेदन’ तयार भएको छ । १३ शीर्षकमा विभाजित ४२ पृष्ठको प्रतिवेदनलाई अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार राति अन्तिम रूप दिएको हो । आजको नयाँ पत्रिकामा यो समाचार छ ।
‘प्रतिवेदनलाई बिहीबारै अन्तिम रूप दिइएको छ,’ कार्यदलमा एमालेतर्फका नेता सुवास नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘अब सामान्य भाषा मिलाउने काम कार्यदल संयोजकले गरिसकेपछि पार्टी एकता संयोजन समितिको बैठकमा बुझाइनेछ ।’ सामान्य भाषिक कमजोरी सच्याउनका लागि कार्यदल संयोजक एमाले नेता नेपालले माओवादी नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता रघुजी पन्तको सहयोग लिनेछन् । भाषा मिलाउन शुक्रबार बिहान नेता नेपालसहित तीन नेता एमाले संसदीय दलको कार्यालयमा केहीबेर बसेका थिए ।
बाग्मती हाउजिङमा तयार भयो प्रतिवेदन
शंखमूलस्थित बागमती हाउजिङमा बिहीबार बसेको अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । प्रतिवेदन टुंग्याउन कार्यदलका संयोजक नेपालले साँझ ५ बजेदेखि राति १० बजेसम्मका लागि बैठक बोलाएका थिए । प्रतिवेदनलाई अन्तिम रूप दिएर राति करिब ११ बजे नेताहरू आ–आफ्ना निवास फर्किएका थिए । प्रतिवेदन लेखन कार्यदलमा एमालेबाट नेपालसहित भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, टोपबहादुर रायमाझी, पम्फा भुसाल र देवेन्द्र पौडेल थिए ।
प्रतिवेदन १३ शीर्षकमा
एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन १३ शीर्षकमा बनाइएको छ । वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली क्रान्ति रणनीति र कार्यनीति, नेपाली पुँजीवादी जनवादी क्रान्तिः समाजवादउन्मुख समावेशी लोकतन्त्र शीर्षकमा प्रतिवेदन लेखिएको छ । त्यसैगरी राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीति, विशिष्ट राजनीतिक कार्यदिशा : मूल राजनीतिक कार्यनीति, तात्कालिक राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूको विश्लेषण, नेपाली कम्युनिस्ट आन्दोलन र पार्टी एकीकरण, कम्युनिस्ट आन्दोलनका गौरवशाली ६८ वर्ष, पार्टी एकताको ऐतिहासिक आवश्यकता, पार्टी निर्माण र पार्टीको संगठनात्मक सिद्धान्त शीर्षकमा प्रतिवेदनका विषय समेटिएका छन् ।
मुख्य कार्यदिशा : समाजवादको आधार निर्माण
कार्यदलले एकीकृत पार्टीको मुख्य कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माणलाई अघि सारेको छ । यसका लागि राष्ट्रिय पुँजीवादी उत्पादक शक्तिको विकास, राष्ट्रिय पुँजीवादी आर्थिक क्रान्ति र समृद्धिको लक्ष्य अघि सारिएको छ । भूमण्डलीकृत साम्राज्यवादसँग संघर्ष गरेर अर्थतन्त्रलाई समाजवादउन्मुख नबनाएसम्म राष्ट्रिय पुँजीवादको विकास गर्न नसकिने निष्कर्षसहित समाजवादउन्मुख राष्ट्रिय पुँजीवादको विकास र सामाजिक न्यायसहितको समृद्धि तात्कालिक दिशा, कार्यभार र लक्ष्य हुने प्रतिवेदनमा उल्लेख छ ।