मन्त्री बरालले भने : ‘पाँच नम्बर प्रदेश छिट्टै साक्षर बन्छ’ - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

मन्त्री बरालले भने : ‘पाँच नम्बर प्रदेश छिट्टै साक्षर बन्छ’



झविन्द्र देवकोटा/बुटवल । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश नम्बर ५ लाई साक्षर बनाउने योजना पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । शिक्षा बिना समृद्धिको कल्पना गर्न नसक्ने भन्दै आउने नीति तथा कार्यक्रममा शिक्षालाई जोड दिइने र निकट भविष्यमै साक्षर प्रदेशका रूपमा घोषणा गरिने बताउनुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनले बिहीबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको सम्मान तथा शिक्षामा सुधार अवधारणापत्र प्रस्तुत कार्यक्रममा मन्त्री बरालले नगरपालिका र गाउँपालिकामा प्राविधिक शिक्षालय तथा प्रत्येक जिल्लाहरूमा मेडिकल साईन्स कलेजहरू स्थापनाको योजनालाई प्रदेश सरकारले अगाडि बढाउने बताउनुभयो । उहाँले साक्षर घोषणा गरिएका जिल्लाहरूमा अझैपनि साक्षरता कक्षा तथा पौढ कक्षाका कार्यक्रम सञ्चालन गर्नु दुखद् विषय भएको उल्लेख गर्दै साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने कुरामा आवश्यक परे आफ्नै सहभागी हुने बताउनुभयो ।

उहाँले निजी तथा संस्थागत विद्यालयहरूले युवाहरूको सृजनशिलता बाहिर निकाल्नका लागि ठुलो भूमिका खेलेको बताउँदै संस्थागत र सामुदायिक विद्यालयबिचको खाडललाई पुर्ने गरी कार्यक्रम सञ्चालन गरिने समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल र निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका केन्द्रीय सल्लाहका लोकनाथ उपाध्यायले संयुक्त रूपमा अवधारणा पत्र सामाजिक विकास मन्त्री बराललाई बुझाउनु भएको थियो । मन्त्री बराललाई बुझाइएको अवधारण पत्रमा स्थानीय र प्रदेश संरचना र सरकार हुँदा पनि शैक्षिक नीतिमा देखिएको अन्यौलताले शैक्षिक विकासमा अवरोध देखिएको, सामुदायिक तथा संस्थागत विद्यालयबिच विभेदमा कमी नआएको तथा संस्थागत, सामुदायिक, गुठी, धार्मिक लगायतका विद्यालयहरूका लागि निर्देशिका अनुकूल नहुँदा शैक्षिक गुणस्तरमा वृद्धि नभएको लगाएका विषयहरू एन प्याब्सनका केन्द्रीय सदस्य पौडेलले बताउनुभयो ।

एन प्याब्सनका अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक सङ्घका अध्यक्ष लोकनाथ ज्ञवाली, एन प्याब्सनका उपाध्यक्ष तिलव केसी, सचिव जेबी क्षेत्री लगायतले विद्यालयमा शैक्षिक गुणस्तरवृद्धिका लागि संस्थागत र सामुदायिक विद्यालयलाई सरकारले समान सहयोग गर्नु पर्ने बताउनुभएको थियो । कार्यक्रममा एन प्याब्सनले मन्त्री बराललाई सम्मानपत्रले सम्मान समेत गरेको थियो ।