पार्टी एकता :अन्तत: झुक्यो एमाले ,‘जनयुद्ध’लाई राजनीतिक घटनाक्रमका रुपमा लिन तयार
नेकपा एमाले र माओवादी केन्द्रका नेताले चर्चा गरिएजस्तो एकीकृत कम्यूनिष्ट पार्टी बनाउने अभियानमा ‘मतान्तर’ नरहेको स्पष्ट पारेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पचास प्रतिशतको हिस्सेदारी हुनुपर्ने धारणा सार्वजनिक गरेपछि एकतामा संशय बढेको चर्चा जारी छ । तर, दुवै दलका नेताले कार्यदलमा लगभग सबै विषय टुंगिएको र एकता संयोजन समितिले प्रतिवेदन अनुमोदन गरेको दिन एकता प्रक्रिया पूरा हुने स्पष्ट पारेका हुन् ।
एमाले नेता सुवास नेम्वाङले विधान मस्यौदा कार्यदलले जिम्मेवारी पूरा गरिसकेको र राजनीतिक कार्यदलले पनि आज प्रतिवेदनलाई अन्तिम रुप दिने जानकारी दिनुभयो । त्यस्तै, माओवादी केन्द्रका नेता देव गुरुङले पनि दुवै कार्यदलले दिएको सुझावका आधारमा एकता संयोजन समिति अगाडि बढे पार्टी एकीकरणमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।
बाहिरी चर्चाको ख्याल नगरी दुबै कार्यदल प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको भन्दै उहाँले एकतामा आशंका गर्नुपर्ने आधार नरहेको जानकारी पनि दिनुभयो । कार्यदलस्तरमा चुनाव चिन्ह र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा भने सहमति जुटेको छैन । दुबै विषयमा एकता संयोजन समितिले नै निर्णय लिने नेताहरुले बताएका छन् ।
एमाले ‘सूर्य’को पक्षमा रहँदा माओवादी केन्द्रले नयाँ खोज्नु पर्ने नभए सूर्यभित्र हसियाँ–हथौडा राख्नुपर्ने प्रस्ताव गरेको छ । तत्कालिन माओवादीले सञ्चालन गरेको दस बर्षे ‘जनयुद्ध’को हालसम्म अस्तित्व स्वीकार नगरेको एमाले अन्ततः ‘जनयुद्ध’लाई राजनीतिक घटनाक्रमका रुपमा लिन तयार भएको छ ।