ओलीको भारत भ्रमण र नेपालीको सपना !
प्रधानमन्त्री केपी शर्मा ओली चैत्र २३ गते भारतको राजकीय भ्रमणमा जाँदै छन् । भ्रमणको आधिकारिक मिति तय नभएको परराष्ट्र मन्त्रालयले बताए पनि ओलीको भने भ्रमणको व्यापक तयारी भइरहेको छ ।
ओलीको यो भ्रमणलाई लिएर बौद्धिक देखि राजनीतिक वृतमा विभिन्न खाले बहस सुरु भएका छन् । भारतले पुरानै रवैयामा ओलीसँग धेरै सम्झौता गराउन परराष्ट्र मार्फत टोली खटाएको पनि खबर बाहिरिएका छन् । तर भारतको रवैया मन नपराएका ओली भने आफ्नो भारत भ्रमण अगाडी नै पार्टी एकीकरण गरेर भारतलाई काउन्टर दिन चाहेका छन् ।
नाकाबन्दी पछि ओलीले भारतसँग फरक अडान लिएको र अन्य जस्तै ‘यस म्यान’ बन्न नखोजेको चर्चा भैरहंदा भारतीय परराष्ट्रमंत्री सुष्मा स्वराज नेपाल आएपछि देखाएको ओलीको रूपले भने उनी शङ्काको घेरामा परिसकेका छन् । यससँगै ओली प्रधानमन्त्री भैसकेपछि पहिलो भ्रमण भारतमा नै जाने भन्ने पक्का भएपछि परम्परा तोड्न नसकेको आरोप ओलीलाई लाग्दै आएको र भारतको दाईगिरी तोड्न नसकेको कारण ओलीको राष्ट्रबाद शङ्काको घेरामा आएको छ ।
चीन भ्रमणको निमन्त्रणा पनि यही नजिकको मितिमा भएको र उनी छिन् जानुभन्दा अगाडी भारत जान लागेकोले फेरी पनि नेपालीलाई फसाउन भारतले खेलेको खेलमा भारतले जित्ने त होइन भन्ने आम जनमानसमा परेको भने पक्कै हो । किनकि ओलीले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा भारतसँगको पुरानो शैली तोड्छन की भन्ने आशा जनतामा छ ।
त्यसैले जनताको इच्छा अनुसार भारतसँगको सम्बन्धमा नयाँ आयाम थप्न ओलीले सक्ने पर्ने बाध्यता छ । ओलीले जनतालाई सर्वोपरि राखेर काम गर्ने हो भने कुनै पनि विवादित सम्झौतालाई विज्ञहरूको समूहबाट छलफल गर्न लगाई अगाडी बढ्नु जरुरी छ ।
लोकप्रियताको कारणले ओलीलाई आफ्नै पार्टी भित्रबाट पनि असफल बनाउने चलखेल भइरहेको जगजाहेर नै छ भने विपक्षी त त्यसै पनि उनीप्रति उदार हुने कुरै छैन । नेपाली काँग्रेस भारतसँग नजिक भएकोले विफल गराउने ठेक्का नै लिन सक्छ त्यसैले ओलीले पहिले भन्दा फरक र होशपुर्वक भारतको सम्बन्धमा नयाँ खुट्किला पार गर्नु पर्छ ।