प्रचण्डले भने ..... हतियार उठाउनुपर्छ ! - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

प्रचण्डले भने ….. हतियार उठाउनुपर्छ !



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिकारी आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीको मुख्य भूमिका हुने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वस्तुगत र आत्मगत परिस्थिति, राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था हेरेर सोही बमोजिम विचार निर्र्माण गर्नुपर्ने बताउनुभयो ।

‘वामपन्थी एकतामा बुद्धिजीवी अतिवाद हावी छ, एउटाले विचारको विकास गर्नुहुन्न, विचार र सिद्धान्त पूर्ण छ भन्छ, अर्कोले केही पनि भएको छैन र हतियार उठाउनुपर्छ भन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यी दुबै द्वन्द्वात्मक भौतिकवाद विरोधी विचार हुन् ।’

नेपाली राजनीति विगत ३० वर्षदेखि एउटा गतिमा अगाडि बढिरहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले धेरै कुरा पाएका छौं । तर, अझैं क्रान्तिका कैयौं कार्यभार बाँकी छन्, त्यसैले अहिले समाजवादी क्रान्तिको नयाँ कार्यभार लिने गरी एउटै बलियो कम्यूनिस्ट केन्द्रको घोषणा हामीले गरेका छौं ।’

पार्टी एकतामा वैचारिक पक्ष निकै महत्वपूर्ण हुने गरेको उहाँले बताउनुभयो ।
‘नेपाली जनताले आफ्नो व्यवहारिक जीवनमा परिवर्तन महसुस नगरेसम्म हामीले सबैथोक पाइसक्यौ भन्न मिल्दैन,’ उहाँले भन्नुभयो ।

बैठकमा संगठनका विभागीय इन्चार्ज दीनानाथ शर्मा र केन्द्रीय अध्यक्ष नरेश भण्डारीलाई अध्यक्ष प्रचण्डले सम्मानित गर्नुभएको छ । शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको र भण्डारी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त हुनुभएकोमा संगठनका तर्फबाट सम्मान गरिएको जनाइएको छ ।