बढ्यो खर्च, उठेन राजस्व - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

बढ्यो खर्च, उठेन राजस्व



पत्रपत्रिका/अन्नपुर्ण पोष्ट-

सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकिएको छ। बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ। बजेटले सोचेजति वैदेशिक सहायता÷अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो।

शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो। सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋणलाई आम्दानीका रूपमा परिभाषित गरिएको छ। यो रकम शुक्रबार साँझसम्म सबै सकिएको कार्यालयका उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिए।

स्थानीय तहले पाउने वित्तीय हस्तान्तरणको अन्तिम किस्ता पठाउन थालेपछि सरकारी खर्च खाता ऋणात्मक भएको हो। आइतबार स्थानीय तहको सबै अनुदान गैसक्ने भएकाले बजेट प्रणालीको रकम सकिएर ५० अर्ब घाटामा जाने अनुमान कार्यालयले शुक्रबार नै गरेको थियो। तर, बजेट पठाउने प्रक्रियामा सिथिलता आएका कारण आइतबारसम्म स्थानीय निकायमा २३ अर्ब अनुदान मात्र गएको छ। ७५ अर्बमध्ये ५२ अर्ब स्थानीय निकायलाई पठाउन बाँकी छ।

बजेटरी प्रणाली अन्तर्गतको खर्च गर्ने रकम नभए पनि सरकारको ढुकुटीमा भने अझै दुई खर्ब ७९ अर्ब रुपैयाँ छ’, उपमहालेखा नियन्त्रक भट्टराईले भने ‘यही रकमबाट सरकारले हालको गर्जो टार्नेछ। पछि रकम संकलन भएपछि ढुकुटीमा शोधभर्ना गरिनेछ। अहिलेलाई खर्च गर्ने रकम सकिए पनि ओभर ड्राफ लिनपर्ने अवस्था आएको छैन।