कुलमान घिसिङ बने वर्षकै सर्वश्रेष्ठ सीईओ - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

कुलमान घिसिङ बने वर्षकै सर्वश्रेष्ठ सीईओ



पत्रपत्रिका/अन्नपूर्ण पोष्ट-

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वश्रेष्ठ प्रमुख कार्यकारी अधिकृत घोषणा भएका छन्। सीईओ क्लबले आयोजना गरेको एक कार्यक्रममा एसएमएस भोटिङका आधारमा घिसिङ सर्व श्रेष्ठ सीईओ घोषणा भएका हुन्।

लोडसेडिङको अन्त्य र विद्युत् चुहावटमा विशेष योगदान गरेको भन्दै उनलाई सर्व श्रेष्ठ घोषणा गरिएको हो। घिसिङसँगै प्रतिस्पर्धामा नबिल बैंकका डेपुटी सीईओ अनिल शाह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, बैंकर चन्द्र ढकाललगायत थिए।

सबै प्रतिस्पर्धीलाई पछिपार्दै घिसिङ सर्व श्रेष्ठ भएको आयोजक संस्थाले जानकारी दिएको छ। यसैगरी घिसिङलाई सर्व श्रेष्ठ सीईओसँगै ‘बेस्ट सीईओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सीईओ अवार्ड पनि दिइएको छ। विद्युत् माग र आपूर्तिको कुशल व्यवस्थापनका लागि उनलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको हो।

आफूलाई प्राप्त भएको सम्मानलाई सम्पत्तिका रूपमा स्वीकार गर्दै आगामी दिनमा आफ्नो क्षेत्रमा अझै सक्रिय भएर लाग्ने घिसिङले बताएका छन्।