गणेश लामालाई प्रहरीले फसाउन खोजेको शंका - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

गणेश लामालाई प्रहरीले फसाउन खोजेको शंका



बुधबार राति काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाईके गणेश लामाले पेस्तोल आफ्नो नभएको भन्दै मुचुल्का कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

नेपाल प्रहरीले प्रयोग गर्ने एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ परेका लामाले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन्।

आफूमाथि दुई जना युवाले गोली चलाउँदै गर्दा उक्त पेस्तोल खोसेको लामाको दाबी छ।

प्रहरीले बरामद गरेको पेस्तोल आफ्नो नभएर आफूलाई गोली हान्न आएका युवाको हो भन्दै लामाले मुचुल्कामा हस्ताक्षर गर्न नमानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले बताए।

‘अभियुक्त लामाले हतियार आफ्नो होइन भन्दै मुचुल्कामा हस्ताक्षर गरेका छैनन्,’ प्रवक्ता थापाले भने, ‘हतियार उनैको साथबाट बरामद भएको हो।’

लामाको साथबाट बरामद भएकै पेस्तोलबाट एक राउड फायर समेत भएको थियो।

लामालाई प्रहरीले हातहतियार तथा खरखजनामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गर्ने क्रम जारी रहेको प्रवक्ता थापाले सेतोपाटीलाई जानकारी दिए।