कपिलबस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

कपिलबस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले



किरणमान बज्राचार्य
कपिलवस्तु । कपिलवस्तुमा फेरि हात्तीपाइले विरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । अभियान २०६४ देखि लगातार संचालन गरिँदै आइआएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन ।

यस वर्ष फागुन १२ देखि ३ दिने अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । २०६४ देखि २०६६ सम्म अभियान संचालनपछि जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसहरूमा रहेका व्यक्तिहरूको नमुना रगत संकलन गरिएको थियो ।
त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमितहरू भेटिएको थियो । त्यस पछि पनि अभियान संचालन गरिएपछि पाँचाैं, छैठौं र आठाैं वर्ष पनि नमुना रक्त परीक्षण गर्दा फेरि संक्रमितहरू भेटिएका थिए । सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या १ प्रतिशतभन्दा कममा झर्ने सरकारी योजना छ ।
तर जिल्लाको तथ्यांकले यो कार्य निकै चुनौतीपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

‘९ वर्षे अभियान उपलब्धीमूलक देखिएन, त्यसैले फेरि यो अभियान संचालन गर्न लागेका छौँ,’ स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले भने– ‘अभियानमा पोका पारेर औषधी बाँडियो, तर धेरैले खाएनन्, त्यसैले रोगको निवारण भएन ।’ उनका अनुसार नमुना रक्त परीक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन् । तत्कालीन बहादुरगंज, महाराजगंज र बाणगंंगा गाविसका नौ सय जनाको नमुना परीक्षण गर्दा सो फेला परेको थियो ।
२०७२ कार्तिकमा केन्द्रीय र जिल्ला स्तरीय टोलीले नमुना रक्त संकलन गरेको थियो । २०७२ सालमा बजेट स्विकृत नहुँदा अभियान संचालन भएको थिएन । २०७१ मा जिल्लाका ४० विद्यालयका ६ र ७ वर्ष उमेरका बालबालिकाहरूमा समेत नमुना परीक्षण गर्दा करिब ५ प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको वरिष्ठ जनस्वास्थ्य प्रमुख योगेन्द्र भगतले बताए ।
सोही तथ्यांक बाहिर आएपछि जिल्लामा २ वर्ष अभियान थपिएको थियो । यो हात्तीपाइले विरुद्धको अभियान जिल्लामा अन्तिम भएकोले सबैले हातेमालो गर्न उनले अपील गरे ।

सो रोगविरुद्ध दिइने औषधी पूर्णरूपमा सुरक्षित भए पनि भ्रममा परेर धेरैले नखाएपछि समस्या देखिएको तौलिहवा अस्पतालका डाक्टर सजल त्वानावासुले बताए । ‘सो रोगविरुद्ध दिइने औषधी विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको हो, त्यसैले यो पूर्णरूपमा सुरक्षति छ ढुक्कसँग खाए हुन्छ,’ उनले भने ।
औषधी सेवनले सामान्य असर देखिन सक्ने भए पनि केही नहुने उनले बताए ।

रोगका परजीवीहरू रहेका मानिसहरूलाई सामान्य वाकवाकी रिंगटा आउने र टाउको दुख्न सक्ने उनले बताए । ‘ यो भनेको सामान्य कुरा हो, औषधी सेवनले हात्ती पाइले सर्नबाट सुरक्षित राख्छ,’ स्वास्थ्य कार्यालयका फोकल पर्सन उदय चन्द चौरसियाले भने । औषधीविरुद्ध भ्रामक कुराहरूले गर्दा गाउँ देहातभन्दा शहरीयाहरूले औषधी सेवन नगरेको उनले बताए । ‘गाउँमा मानिसहरूले ढुक्कसँग औषधी खाए, शहरीयाहरूले पोकामा थन्काएर राखे’, उनले भने– ‘त्यसले गर्दा अभियानले साथर्कता पाउन सकेन ।’ यस पटक ३० देखि ४० घरको बीचमा एक जना स्वयंसेवक परिचालन गरिने योजना रहेको उनले बताए । स्वयंसेवककै प्रत्यक्ष निगरानीमा औषधी खुवाइने छ ।

९ वर्षे अभियानमा ५ लाख ५३ हजार ५२४ मध्ये ४ लाख ७५ हजार ९६१ जनाले मात्र औषधी आएको चौरसियाले बताए । अभियानमा स्वयंसेवक र कर्मचारी गरी ३ हजार ३ सय जना परिचालन हुनेछन् । हात्तीपाइले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ ।

यो परजीवी एक व्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाइबाट सर्दछ । केटाकेटीहरू यो रोगको जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन । यो रोग लागेपछि खुट्टा सुन्निएर हात्ती जस्तै हुने, हात, स्तन सुन्निने गर्छ । यो औषधी २ वर्षमुनिका बालबालिका, ७ दिनको सुत्केरी, कडा रोग लागेका र ७० वर्ष नाघेकाले सेवन गर्न नहुने डाक्टरहरू बताउँछन् । २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २ सय २८, हाइड्रोशील ६ सय २ र शरीरका अन्य भागमा ४८ गरी ८ सय ७८ संक्रमित भेटिएका छन् ।