डाक्टरको सुझाव :बाथरुममा कसरी सावधानी अपनाउने ? - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

डाक्टरको सुझाव :बाथरुममा कसरी सावधानी अपनाउने ?



– केही दिन पहिले शिक्षासेवी डा. बाबुराम पोखरेलको बाथरुममा लडेर मृत्यु भयो ।

– यही पौष ९ गते आइतबार राति बाथरुममा हात धुने क्रममा लडेर नेपाल बैङ्क लिमिटेडका बिर्तामोड शाखा प्रमुख ४१ वर्षीय उमेशचन्द्र घिमिरेको आइतबार निधन भयो ।

– केही समय पहिले मुस्ताङ आएकी दक्षिण कोरियाली नागरिक जुमी आनको मुक्तिनाथ गाविसको होटेल बममार्नीको बाथरुममा लडेर मृत्यु भयो ।

– गत असोजमा गैँडाकोट ५ बैकुण्ठचोकमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उमेश प्रसाद मण्डलको बाथरुममा लडेर मृत्यु भयो ।

– खोटाङको माक्पा–३ बेप्लाका २१ वर्षीय खुसीमान राईको मलेसियामा बाथरुममा लडेर मृत्यु भयो ।

– नेपाल क्रिकेट सङ्घ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बाथरुममा लडेर मृत्यु भयो ।

त्यस्तै भारतका चर्चित बाबा राम कृपाल महाराजदेखि माइकल ज्याक्सनको पनि बाथरुममै लडेर मृत्यु भएको थियो ।

यी त हुन् प्रतिनिधि उदाहरण । बाथरुम अँध्यारो हुनु, चिप्लो हुनु, साबुन/सेम्फुको चिप्लो रहनु, बाथरुममा पानीको काम पर्नु, बाथरुमको भुइँ चिप्लो हुनु , चप्पल खश्रो सोल भएको प्रयोग नगर्नु, रातीमा अर्धहोशमै बाथरुम जानु …जस्ता दर्जनौँ कारणले गर्दा बाथरुममा दुर्घटना बढिरहेको छ ।

बाथरुममा लड्दा मृत्यु हुने प्रमुख कारण हेड इन्जुरी हो भने अपांगता हुने प्रमुख कारण इस्पाइनल इन्जुरी हो । बाथरुममा लड्दा जुन अङ्गमा ठोकिन्छ, त्यही अङ्ग र सँगै रहेको हड्डीमा असर पर्ने हुँदा आँखा गुम्ने, दाँत भाँचिने, करंग भाँचिने, मेरुदण्ड भाँचिने, हात्खुता भाँचिने, शरीरका भित्री अङ्गमा रगत जम्ने, भित्री अङ्गलाई चोट पुग्ने, गर्भवतीको गर्भपतन हुने लगायत धेरै अकल्पनीय स्वास्थ्य समस्या बेहोर्नु पर्दछ ।

तसर्थ बाथरुमलाई सफा, ओसिलो, खस्रो तथा कारणबश लडेमा कम क्षति हुने प्रकारको बनाउनु, खस्रो सोल भएको चप्पल प्रयोग गर्नु, प्रकाशको पर्याप्त व्यवस्था गर्नु, साबुन/सेम्फुको चिप्लो नराख्नु, भिजेका कपडा नराख्ने, मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने, बाथरुममा खस्रो टायल लगाउने, सकभर ट्वाइलेट र बाथरुम अलग अलग बनाउने,चस्मा प्रयोग गर्ने व्यक्तिले बाथरुम जाँदा पनि चस्माको प्रयोग गर्ने, राति उठेर केही मिनेट बसेपछि अर्थात् पूर्ण होसमा आएपछि मात्र बाथरुममा जानु, निद्रा लाग्ने औषधिसेवी/मादक पदार्थसेवी/उच्च रक्तचाप भएका तथा बृद्धबृद्धाले विशेष ख्याल गर्नुपर्ने …..जस्ता धेरै उपाय गर्नु जरुरी छ ! यो उपेक्षित गरिएको तर सबैतिर भइरहेको ठुलो स्वास्थ्य समस्या हो । बाथरुम सुरक्षा चेतना हामीले नफैलाए कसले फैलाउने ?
………………..डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ