जनतालाई धोका धोका दिदैनौ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाम गठबन्धनभन्दा बाहिरबाट प्रधानमन्त्री बन्नेबारे आफूले नसोचेको बताएका छन् । बुधवार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग प्रचण्डले प्रधानमन्त्री बन्न नेपाली काँग्रेसले गरेको अफरप्रति लक्षित गर्दै आफूले जनतालाई धोका नदिने बताए ।
“एमाले र माओवादीको गठबन्धनलाई जनताले अनुमोदन गरिसके । त्यो भन्दा बाहिर गएर म सोच्दिन,” उनले भने ।
प्राविधिक कारणले पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको बताउँदै उनले पद बाँडफाँट ठुलो विषय नभएको दाबी गरे । ओली र आफूले एउटा–एउटा पद लिने सहमति भइसकेको भन्दै उनले त्यसको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताए । पदको कुराले पार्टी एकतामा असर नगर्ने पनि दाहालले दोहाेर्याए ।
“नेतृत्वको हिसाबले दुई जनाले एक/एक वटा पद पाउनु स्वाभाविक हो । अध्यक्ष नपाउँदैमा पार्टी एक नहुने भन्ने कुरा हल्लामात्र हो । नेतृत्वकाे हिसाबले दुवै पार्टीका अध्यक्षले एउटा -एउटा पद पाउँछन्,” उनले भने । अध्यादेश जारी भएर राष्ट्रियसभाकाे चुनावको प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार छिटाे बन्ने पनि उनले बताए ।