पार्टी भित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय:देउवा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

पार्टी भित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय:देउवा



काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय बेहोरेको बताएका छन्।

नेपाल विद्यार्थी सङ्घले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले आन्तरिक मेलमिलाप नहुँदा र स्थानीय तहमा अन्तरघात गर्नेलाई कारबाही नगर्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी पराजित भएको बताए।

वाम गठबन्धनका कारण प्रत्यक्षतर्फ खराब नतिजा आए पनि समानुपातिकको मतपरिणामले काँग्रेस नहारेको बताए।

‘अन्तरघात र आन्तरिक कलहका बाबजुद पनि हामी समानुपातिकमा हारेका छैनौँ’, देउवाले भने, ‘काँग्रेसका धेरै मत बदर भएर एमालेले समानुपातिकमा एक सिटले जितेको हो, उनीहरूको दुई पार्टीको भोट हो, हाम्रो एक्लो भोट हो।’

प्रतिकूल अवस्थामा काँग्रेस दोस्रो पार्टी भएको उल्लेख गर्दै देउवाले परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे।

‘पार्टी हारेको छैन, निराश हुने त्यो पनि युवा अवस्थामा?’ देउवाले प्रश्न गरे, ‘म बुढो निराश भएको छैन, युवा निराश हुने?’

निर्वाचनमा बेहोरेको पराजयको छानबिन गर्न उच्चस्तीय छानबिन कमिटी गठन गर्ने बताएका देउवाले छानबिन प्रतिवेदनपछि अन्तरघात गर्नेलाई कडा कारबाही गरिने उल्लेख गरे।