देउवाको भने–आफु हार्ने अनि मेरो विरोध गरेर हुन्छ ?
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाएका छन् ।
उनले चुनावको परिणाम हेरेर निराश नहुन पनि कार्यकर्तालाई आह्वान गरेका छन् ।
“चुनावको परिणाम हेरेर युवा नै किन निराश भएको ? म बुढो त निराश भएको छैन । समानुपातिकमा त राम्रै मत आएको छ ।”
उनले अन्तर्घात गर्नेलाई कारवाही गर्ने पनि बताए ।
नेविसंघले मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रममा उनले भने, “चुनावमा हार्नुको कारण के हो उच्चस्तरीय छानविन समिति गठन गर्छु । स्थानीय निकायमा अन्तर्घात गर्नेलाई कारवाही नगरेका कारण अहिले धेरै अन्तर्घात भयो । अन्तर्घात गर्नेलाई कडा भन्दा कडा कारवाही हुन्छ । छानविन निष्पक्ष तरिकाले हुन्छ ।”
उनले पार्टीभित्र आफ्नो आलोचना गर्नेको पनि विरोध गरेका छन् ।
“पार्टीभित्र मेरो विरोध गर्नेले बुझुन्, आफू हार्ने अनि मेरो विरोध गर्ने ?,” उनको भनाई थियो, “अहिले तत मम गरेर कोही बलियो पनि हुँदैन । केही हुनेवाला पनि छैन । हाम्रै कारणले हाम्राले हामीलाई हराएको हो ।”
उनले बेलुका भएपछि मतगणनास्थलमा बस्दै नबस्ने कारणले पनि केही उमेदवार पराजित हुनुपरेको बताएका छन् ।
“मतगणनास्थलमा बस्दै नबस्ने, राति भयो कि त झनै बस्दै नबस्ने, त्यो पनि हारको एउटा कारण हो,” उनले भने । उनले कांग्रेसभित्र मेलमिलापसहितको अनुशासन जरुरी रहेको बताए ।
फाइल तस्बिर