शीतला उ.मा.बि.खेल मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जालीहरूबाट सहयोग। - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

शीतला उ.मा.बि.खेल मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जालीहरूबाट सहयोग।



कर्ण अधिकारी।

स्याङ्जा जिल्ला क्षेत्र नं १ पौवै गौडे गाउँ पालिका वडा नं ४ अन्तर्गत पर्ने श्री शीतला उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूको पढाइको साथ साथै खेलकुद प्रति लगाव बढाई भविष्यमा राम्रो खेलाडी पनि उत्पादन गर्न सकियोस भन्ने सोचका साथ यस क्षेत्रका राजनितिकर्मी,बुद्धिजीवी वर्ग र स्थानीय जनताको छलफल पश्चात् विद्यालय भवन नजिक विद्यालयकै स्वामित्वमा रहेको खुल्ला जमिनलाई खेलकुद मैदान निर्माण गर्ने लक्ष्य तय गरिएको थियो।

उक्त निर्माण समितिको अध्यक्ष बेल बहादुर थापा र स्याङ्जा बासी नरेश कार्कीले हंगकंग र मकाउ साथै अन्य देशमा रहनु भएका त्यस भेगका स्याङ्जाबासीहरूसंग सहकार्य गरी नेपाली २ लाख ७२ हजार २२५ रुपैयाँ सङ्कलन गरेका छन्।उक्त रकम मध्ये हंगकंगमा रहनु भएका स्याङ्जाबासी त्यसै विद्यालयमा अध्ययन र अध्यापन गराउनु भएका सुरेन्द्र गुरूङ्गले ने रु ५० हजार सहयोग गर्नु भएको छ भने नरेश कार्कीले २० हजार र उहाँका सहकर्मी साथीहरूबाट २ लाख २ हजार २२५ रुपैयाँ सङ्कलन भएको हो।

उक्त संकलित रकमबाट विद्यालयको खेल मैदान बनाउने काम सुरु भई सकेको र बाँकी रहेको कामहरू उक्त विद्यालय व्यवस्थापन समितिले नै निर्माण गर्ने कुराको जानकारी उक्त रकम सङ्कलनका अभियन्ता नरेश कार्कीले बताउनु भएको छ।अभियन्ता कार्की र उक्त निर्माण समितिका अध्यक्ष बेल बहादुर थापाले पौवै गौडे गाउँ पालिकामा स्थायी बसोबास गरी विदेशमा कार्यरत रहनु भएका दाजु भाइहरूले गर्नु भएको सहयोग प्रति हार्दिक धन्यवाद दिनु भएको छ।