दिल्लीमा बसेर भईबर म्यासेज मार्फत ठगी - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

दिल्लीमा बसेर भईबर म्यासेज मार्फत ठगी



वीरगंज– चिठ्ठा ठगीको आरोपमा तीन जना पक्राउ परेपछि थप पीडितहरु उजुरी लिएर वीरगंज पुगेका छन्। पोखरा र नवलपरासीबाट समेत पीडितहरु आएको प्रहरीले जनाएको छ ।

लाखौँको चिठ्ठा परेको भन्दै त्यसवापत लाग्ने कर बुझाउन भन्दै ठगी गर्ने ३ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। भारत बिहार कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा घर भएका २६ वर्षीय चिन्कु भन्ने साकिर रेजा, सोही ठाउँ बस्ने २१ वर्षीय मुकेशकुमार राय र बाराको बरियारपुर नगरपालिका–१ घर भई महागढीमाई नगरपालिका–१ बस्ने ३४ वर्षीय फिरोज राय भाटलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ परेको थाहा पाएपछि ठगीएका व्यक्तिहरू वीरगंज पुगेका हुन्।

दिल्लीमा बसेर ठगी

पक्राउ पर्नेमध्ये साकिर रेजा ठगी घटनामा मुख्य योजनाकार हु । उनी दिल्लमिा बस्दछन् । पर्साका डिएसपी राजन लिम्बुका अनुसार उनले नै यस्तो ठगीको योजना बनाएका थिए । ‘कसैलाई भाइबर त कसैलाई फेसबुकमा लाखौँको चिठ्ठा परेको म्यासेज पठाउथे, कतिपयलाई दिल्लीबाट फोन नै गरेको समेत देखिन्छ,’ उनले भने,‘चिठ्ठाको पैसा पठाउन नेपाल सरकारलाई कर बुझाउन लगाएर आफ्ना व्यक्तिको खातामा पैसा पठाउन लगाएर ठगी गर्दै आएका थिए।’ उनीहरूलाई प्रहरीले सोमबार वीरगंज महानगरपालिका–८ घण्टाघर नजिक पान गल्लीमा रहेको माँ दुर्गा मनि ट्रान्सफर तथा नारायणी गेष्ट हाउसबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट फिरोज राय भाट नामको मतदाता परिचय पत्रको फोटोकपी ९० थान, सोही नामको नागरिकताको फोटोकपी १ सय ७ थान, सिटी एक्सेस मनी ट्रान्सफरको सक्कल खाली भौचर २४ थान, , प्रभु मनि ट्रान्सफरको सक्कल खाली भौचर १ सय ४९ थान, हिमाल रेमिटको सक्कल खाली भौचर ४२ थान, नगद नेपाली २ लाख ४० हजार रुपैयाँ तथा भारतीय ५ हजार ४ सय रुपैयाँ, मोबाइल, फोटो , एटीएम कार्ड लगायतका सामानहरू बरामद गरेको छ । पैसा लिन वीरगंज आएका बेला रेजा पक्राउ परेका हुन्।
यस्तै किसिमको अपराधमा संलग्न गिरोहका ६ जनालाई गत मङ्सिर १४ गते पक्राउ गरी ठगी तथा सङ्गठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। चिठ्ठाका नाममा ठगी बढेको भन्दै लोभमा नफस्न प्रहरीले आग्रह गरेको छ।