टोपबहादुरले हिसाब बुझाउन सक्लान ?
एउटा मात्रै चुनावी क्षेत्र भएको अर्घाखाँची जिल्लाको भिडन्त पनि कम्ता रोचक छैन । तर मतदाताको रूचीमा नपरेका उम्मेदवारहरू भएकै कारण यो क्षेत्रमा चुनावको उमङ्ग भने छैन । मंसिर ४ को निर्वाचनका लागि टेस्टड अनुहार भन्दा फरक उम्मेदवारको अपेक्षा गरेका अर्घाखाँचीबासीका लागि यसपटक पनि पुरानै अनुहारहरूले खिन्न बनाएको छ ।
पटकपटक अवसर पाएका एमाले सचिव टोपबहादुर रायमाझी र धेरै पटक अवसर पाएकी पूर्व उपसभामुख समेत रहेकी कांग्रेस नेतृ पुष्पा भुसालबीच हुने प्रतिस्पर्धामा आम कार्यकर्ता र मतदाताको भने त्यति चासो नभएको देखिन्छ । पदका लागि जे पनि गर्नसक्ने टोपबहादुर यसपटक नेकपा एमालेको टिकट लिएर मैदानमा छन् भने पार्टी नेतृत्वको निगाहमै थुप्रै अवसर पाउँदा पनि जिल्लामा नभिजेकी पुष्पा उनीसँग प्रतिस्पर्धा गर्दैछिन् ।
संसदीय राजनीतिमा चतुर खेलाडी मानिएका टोपबहादुरप्रति नजिकका कार्यकर्ताले सदासयता देखाएपनि आम मतदाताबीच भने टोपबहादुर अवसरबादी नेताका रूपमा चिनिएका छन् । माओवादी केन्द्रमा रहँदा शक्तिशाली मानिएपनि एमालेमा भने उनी कमजोर देखिएका छन् । माओवादी केन्द्रमा रहँदा अवसरकै लागि गुट परिवर्तन गरिरहने उनले पदकै लागि पार्टी समेत परिवर्तन गरेको आरोप छ ।
तत्कालिन नेकपा विभाजनका बेला मन्त्री बन्नकै लागि पार्टी त्यागेको आरोप लागेका टोपबहादुरलाई पहिलेका सारथीहरूले पनि काँध थापेका छैनन् भने पुरानो जोश पनि उनीमा देखिन्न ।
स्थानीय निर्वाचनको परिणामले हौसिएका टोपबहादुर उम्मेद्वारी मनोनयन गर्दा गर्दासम्म गलिसकेको अनुमान गर्न सकिन्छ । मनोनयन गर्दा गर्दा उनको अनुहारमा चमक थिएन । उम्मेदवार बन्नुअघिसम्म टोपबहादुरले सत्तारुढ गठबन्धनसँग बार्गेनिङ गरिरहेको खुलेपछि उनी विवादमा तानिएका थिए । त्यहि काण्डका कारण एमालेले उनलाई स्पष्टिकरण सोधेको थियो । त्यसयता उनीमाथि एमालेले निगरानी गरिरहेको छ ।
एमालेबाट चुनाव लड्दा एमालेकै नेताहरूले अन्तर्घात गर्ने तुष पसेपछि उनी गठबन्धनबाट उम्मेदवारी पाएको खण्डमा माओवादीमै फर्किन सक्ने भन्दै प्रचण्डलाई संदेश पठाएको हिमालपोस्टले नै खुलासा गरेको थियो ।
चुनावी अभियानमा पनि उनलाई मतदाताको प्रश्नले हैरान बनाउने निश्चित छ । उनले पार्टी परिवर्तनदेखि पटकपटक पाएका असवरबाट जिल्लालाई के दिए त्यसको हिसाब बुझाउनुपर्नेछ । त्यतिमात्रै होइन उनले चुनाव जितेपछि गरेका उट्पट्याङ बाचाहरू समेत अहिले सामाजिक सञ्जालमा ट्रोल बनेका छन् । कोरोना महामारीमा समेत उनले खेलेका कतिपय भूमिका शंकास्पद छन् ।
चुनावी अभियानका लागि जिल्लामा व्यस्त बनेका उनलाई सबैभन्दा ठूलो झड्का एमालेबाटै लाग्ने देखिन्छ । त्यसमाथि पूर्वासहकर्मीहरू उनका आन्तरिक रणनीतिबारे जानकार छन् ।
चौतर्फी घेराबन्दीमा परेका उनलाई एमालेकै कतिपय नेताहरूले पार्टीको आन्तरिक बैठकमै सहयोग गर्न नसक्ने बताएका थिए । उनी एमालेमा छिरेपछि लामो समयदेखि पार्टीमा खटिएका एमालेका नेताहरूले असुरक्षित महसुस गरेको पनि चर्चा जिल्लामा छ । उनी पटकपटक सांसद र मन्त्री बन्दा गरेका बाचाहरूले उनलाई थप तनाव दिने निश्चित छ । जहाँ जाँदापनि हतारमा एउटा न एउटा घोषणा गरिहाल्ने उनको बानीकै कारण पनि उनलाई थप संकट देखिन्छ ।
दुई-दुई पटक संसद विघटन गर्दा ओलीलाई साथ् दिएपछि विवादमा तानिएका टोपबहादुरलाई यसअघि विश्वास गरेर भोट दिएका मतदाताले पनि प्रश्न गरेको खण्डमा उनीसँग जवाफ छैन । यी सबै हिसाब बुझाउन नसकेको खण्डमा उनको जहाज डुब्ने देखिन्छ ।
तर पनि निकै चतुर छबी भएका उनले एमाले नेता र मतदातालाई मख्ख पार्न सक्ने आंकलन भने गरिन्छ । जिल्लामा हुने चुनावी छलफलमा पनि उनको चतुर्याइँ र कार्यकर्ता रिझाउने कलाबारे चर्चा हुने गरेको छ ।