बालेन शाहले किन गरे हेटौंडाको कार्यक्रम बहिस्कार ? यस्तो रहेछ कारण - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

बालेन शाहले किन गरे हेटौंडाको कार्यक्रम बहिस्कार ? यस्तो रहेछ कारण



काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट भएर काठमाडौं फर्किएका छन्।

बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सोमबार हेटौंडा पुगेका शाह असन्तुष्ट हुँदै काठमाडौं फर्किएका हुन्।

शाहले सोमबार साँझ नै ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’​ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

प्रमुख शाहका सहयोगी कुमार बेनले मौका हुँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर काठमाडौं फर्किएको जानकारी गराए।

‘मलाई व्यक्तिगतरुपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौंसँग र काठमाडौंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र उर्जा खर्चिने? मेरो प्रश्न यति हो,’ प्रमुख शाहको भनाइ उद्धृत गर्दै बेनले भनेका छन्, ‘काठमाडौं केवल राजधानी मात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।’

शाहले गाली र आलोचना नै सुन्नुपर्दा आफ्नै महानगरवासीको सुन्ने बताएका छन्।

‘गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु। अथवा, सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रममा सुन्नेछु। धन्यवाद’ मेयर शाहको भनाइ उद्धृत गर्दै बेनले भनेका छन्।