काठमाडौं ५ बाट रञ्जु दर्शना लड्ने, बालेन जिताउने समूहको समर्थन - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

काठमाडौं ५ बाट रञ्जु दर्शना लड्ने, बालेन जिताउने समूहको समर्थन



काठमाडौंमा आगामी प्रतिनिधिसभाको निर्वाचन रोचक हुने देखिएको छ । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेपछि प्रतिनिधिसभाको लागि पनि स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनको तयारी थालेका छन् ।

मेयरमा बालेन्द्र शाहलाई जिताउन लागेको टीमले काठमाडौंका सबै क्षेत्रमा निर्वाचन लड्न स्वतन्त्र र युवाहरूको खोजी गरिरहेको छ । यस्तै उक्त समूहले काठमाडौ ५ को लागि यसअघि मेयरमा उठेकी चर्चित अनुहार रञ्जु दर्शनालाई उठाउने भएको छ ।

प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनमा देशभरबाट बालेनलाई काठमाडौंको मेयरमा जिताउन लागिपरेको टिम सक्रिय रूपमा लागेको छ ।

यो समुहले काठमाडौंका सबै क्षेत्रमा निर्वाचनको मिति घोषणा हुनु अगावै उम्मेदवार तय गर्ने रणनीति बनाएको छ ।

काठमाडौ ५ बाट उठाउने तयारी गरिएकी रञ्जु दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् । विवेकशील साझा पार्टीमा रहेकी उनले पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेकी छन् ।

काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।

काठमाडौंको मेयरमा बालेन साहलाई जिताउन लागिपरेको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् ।

विवेकशील नेपाली दलबाटै राजनीति शुरु गरेर चर्चामा आएकी रञ्जु दर्शनाले उज्जवल थापाको राजनीतिबाट आफू प्रभावित रहेको बताउँदै आएकी छिन् । उज्जवल थापाले पनि यहि क्षेत्रबाट लड्ने तयारी गरेका थिए ।

यो समुहले काठमाडौ क्षेत्र नं १ बाट पुकार बमलाई अघि सारिसकेको छ भने रुपन्देही क्षेत्र नं २ बाट डा. निकोलस भुसालले उम्मेदवारी घोषणा गरेका छन् ।