बालेनले शपथलगत्तै प्रधानसेनापति भेट्नुको रहस्य के ? - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

बालेनले शपथलगत्तै प्रधानसेनापति भेट्नुको रहस्य के ?



काठमाडौं महानगरपालिकाको मेयरको शपथ खाएर नवनिर्वाचित मेयर बालेन शाह (बालेन्द्र शाह) एकाएक नजिकै रहेको सैनिक मुख्यालय हानिएपछि सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म विभिन्न प्रतिक्रिया आइरहेका छन्।

सर्वत्र चर्चा भएको यो भेटलाई चासोको रूपमा धेरैले हेरेको देखियो । तर मेयर शाहको प्रधानसेनापति प्रभुराम शर्मासँग भेट्ने खास एजेन्डा नभएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् ।

सेनाको मुख्यालय हटाएर पुरानो टुँडिखेल क्षेत्र ब्युँताउनेबारे समेत आवाज उठिरहेकाले यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘समय माग्नुभयो र आउनुभयो,’ सिलवालले भने, ‘चिफसापले बधाई तथा कार्यकालको शुभकामना दिनुभयो । यो नितान्त सद्भाव भेटघाट मात्र थियो ।’ सेनाले जारी गरेको विज्ञप्तिमा भेटले महानगरपालिका र सेनाबीच विगतदेखि रहँदै आएको सम्बन्ध थप बलियो हुने बताइएको छ ।

सरकारले तोकेको मर्यादाक्रममा प्रधानसेनापति महानगरपालिकाको मेयरभन्दा मुनि पर्छन् । महानगर र सेनाको सहकार्य विपद् व्यवस्थापनमा हुने गर्छ । तर, विपद् व्यवस्थापनमा समेत फ्रन्टलाइनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी हुन्छ ।